अत्याधुनिक बसपार्कको व्यवस्थापनमा समस्या

नेपालगन्ज– लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार बाँकेको कोहलपुरमा पछिल्लो समय पूर्वाधार निर्माण हुने क्रम बढेको छ ।

तर, करोडांै खर्च गरेर बनाइएका संरचना सञ्चालन तथा व्यवस्थापनमा भने समस्या आएको छ ।

ठूलो लगानी गरेर निर्माण गरिएका गौरवका आयोजनाले पूर्णता पाउन सकेका छैनन् । नगरपालिकामा निर्माण सम्पन्न भएको अत्याधुनिक बसपार्कको टर्मिनल भवन र काठमाडांैको धरहराको झल्को दिने गोलपार्क भ्युटावर यसको पछिल्लो उदाहरण हो ।

यी दुवै संरचना सञ्चालनका लागि कोहलपुर नगरपालिकाले पटक–पटक प्रस्ताव आह्वान गर्दासमेत कुनै व्यवसायी ठेक्कामा लिएर सञ्चालन गर्न इच्छुक देखिएका छैनन् ।

कोहलपुर नगरपालिकाले नगर विकास कोषसँगको साझेदारीमा ३० करोड ६२ लाख लागतमा बसपार्क निर्माण गरेको हो ।

यसमध्ये नगर विकास कोषबाट ६० प्रतिशत ऋण १८ करोड ३७ लाख व्यहोरिएको छ ।

नगरपालिकाले उक्त रकमको वार्षिक आठ प्रतिशत ब्याज तिर्नुपर्छ । बसपार्कमा ५९ वटा व्यावसायिक प्रयोजनका सटर छन् ।

यसैगरी कम्प्लेक्स बिल्डिङ, मेडिकल सप, टिकट काउन्टर, ग्यारेज, गाडी पार्किङ, सार्वजनिक शौचालय लगायतका लागि छुट्टाछुट्टै भवन निर्माण गरिएका छन् ।

सबै भवन भाडामा दिएर नगरपालिकाले वार्षिक ३ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

केही सटर र भवन भाडामा लागेर आंशिक रुपमा सञ्चालन भए पनि मुख्य टर्मिनल भवन सञ्चालनका लागि व्यवसायी इच्छुक देखिएका छैनन् ।

बसपार्कको बीच भागमा रहेको चार तलाको लिफ्टसहितको व्यापारिक भवन सञ्चालनका लागि नगरपालिकाले २०७९ चैत १६ गते वार्षिक न्यूनतम १ करोड ७४ लाखमा टेन्डर आह्वान गरेको थियो ।

तीन पटकसम्म कुनै आवेदन नपरेपछि आधा रकम घटाएर ८७ लाख ३३ हजार न्यूनतम मूल्य कायम गर्दासमेत आवेदन नै परेन । नगरपालिकाले कम्प्लेक्स सञ्चालनका लागि छैटौं पटक प्रस्ताव आह्वान गरिसकेको छ ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिनुका साथै कर्णालीको मुख्य प्रवेशद्वारको रुपमा रहेको हुँदा आधुनिक बसपार्कबाट जनताले सुविधान पाउने र यस क्षेत्रकै समष्टिगत आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ ।

कोहलपुरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी पर्यटन प्रवर्धनका साथै नगरको आम्दानी बढाउने उद्देश्यले निर्माण भएको कोहलपुर गोलपार्क भ्युटावर सञ्चालनका लागि पनि व्यवसायी इच्छुक देखिएका छैनन् ।

नगरपालिकाले भ्युटावर सञ्चालनका लागि तीन पटकसम्म सूचना प्रकाशन गरिसकेको छ ।

वार्षिक २४ लाख रुपैयाँ भाडा निर्धारण गरी टेन्डर आह्वान गरिएको हो ।

भ्युटावर मात्र ५ करोड ६३ लाखमा बनेकोमा अन्य संरचना निर्माण गर्दासम्म करिब १२ करोड लगानी पुग्न सक्ने नगरपालिकाको अनुमान छ । यसमा पनि ६० प्रतिशत नगर विकास कोषको ऋण अनुदान छ ।

दुवै ठूला संरचना सञ्चालनका लागि पटक–पटक प्रस्ताव आह्वान गर्दा पनि टेन्डर नपरेपछि नगरपालिकाले सर्वपक्षीय रुपमा सुझाव संकलन गर्न थालेको छ ।

शुक्रबार पहिलो पटक आयोजना गरिएको अन्तरक्रियामा मेयर पूर्णप्रसाद आचार्यले भ्युटावर र बसपार्क सञ्चालनका लागि पटक–पटक ठेक्का खोले पनि कसैले ठेक्का नहालेपछि सर्वपक्षीय छलफल गरी सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिका पालामा दुवै आयोजना निर्माण सुरु भएको र आफूहरु आएपछि मात्र काम सम्पन्न भएको प्रष्ट्याउँदै उनले आयोजना कसरी व्यवस्थापन र सञ्चालन गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।

ज्यादै न्यून मूल्य राख्दा पनि कोही इच्छुक नदेखिएको हुँदा सरोकारवालासँग छलफल गरी निकास खोज्ने प्रयास गरिएको उनले बताए ।

छलफलमा सहभागीहरुले निर्माण सम्पन्न भइसकेका गौरवका योजना सञ्चालन तथा व्यवस्थापन गर्दा व्यवसायीलाई वातावरण बनाइदिनुपर्ने धारणा राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले भ्युटावर सञ्चालनका सम्बन्धमा छोटो समयको सम्झौता गर्ने भए बाँकी संरचना नगरपालिकाले निर्माण गरिदिनुपर्ने र १५–२० वर्षका लागि सम्झौता गर्ने भए बाँकी संरचना निर्माण गरेर भए पनि आफूहरू सञ्चालन गर्न तयार रहेको बताए ।

सकभर कोहलपुरकै व्यवसायीले सञ्चालन गरुन् भन्ने आफूहरुको चाहना रहेको बताउँदै उनले यहाँका व्यवसायी तयार नभए आफूहरु सञ्चालन गर्न तयार रहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशकी सहरी विकासमन्त्री कृष्णा केसीले संरचना तयार भइसकेकाले अब त्यसलाई कसरी सञ्चालनमा ल्याउने भनेर सबैले सोच्नुपर्ने बताइन् ।

कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिने उनको भनाइ थियो ।

कोहलपुर नगरपालिकाको मुख्य आयश्रोत बन्न सक्ने यी दुवै आयोजना समयमा सञ्चालन नगरलाई ऋणको थप भार पर्नेछ ।

एकातर्फ राज्यको करोडौं लगानी गरेर बनाएका संरचना प्रयोगमा नआउँदा यात्रुले समेत लाभ लिन पाएका छैनन् भने प्राथमिकता निर्धारण नगरी हचुवाको भरमा लगानी गर्दा राज्यकोषको रकम खेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *