दाङको घोराही–तुलसीपुरको सडक अलपत्र

दाङ– जिल्लाको गौरवको आयोजनाको रूपमा रहेको चार लेन सडक ठेक्का तोडिएसँगै निर्माणमा अन्योलता बढेको छ ।

झन्डै पाँच वर्षअघि दाङको घोराही–तुलसीपुरको साँघुरो सडक खण्डलाई चार लेनमा विस्तार गर्ने सरकारको महत्वाकाँक्षी योजना बन्यो ।

झन्डै डेढ अर्ब लागतमा निर्माण गर्ने भनिएको यो सडक विस्तारका लागि भारतीय निर्माण कम्पनीलाई जिम्मा दिइयो ।

यो अवधिसम्म सडक निर्माणका लागि भन्दै सडक खनियो तर विस्तार भएन ।

सडक विस्तारका नाममा भएको खन्नी काममै करोडौं रकम खर्च भयो । अन्ततः खनिएको सडकलाई टालटुल पारेर पुनः यो सडकलाई पहिलेकै अवस्थामा फर्काइयो ।

सडक विस्तारका नाममा खन्दा सात करोड रुपैयाँ खर्च भयो तर सडक नबनेपछि खाल्डा पुर्न फेरि दुई करोड ६० लाख रुपैयाँ खर्च गरियो ।

भारतीय निर्माण कम्पनीले काम गर्न नसकेपछि निर्माणको ठेक्का तोडिएको यो सडक निर्माणको काम भने अहिलेसम्म पनि अन्योलमै छ ।

सरकारले चार लेन सडकका लागि पुनः ठेक्का दिने गरी कार्य प्रारम्भ भएको जनाएको छ, तर कहिले ठेक्का लाग्ने भन्ने मितिको भने टुंगो लागेको छैन ।

‘यो सडकलाई चार लेन बनाउने गरी पुनः ठेक्का लाग्छ,’ सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘तर कहिलेसम्म ठेक्का लाग्ने भन्ने यकिन मितिको भने टुंगो छैन ।’

उनका अनुसार चार लेन सडकका लागि पुनः डीपीआरको काम सकिएको छ । कार्यालयले दुई महिनाअघि यो सडक पुनः ठेक्कामा लगाउने गरी सर्वेक्षण गरेको थियो ।

‘चार लेन सडक निर्माणका लागि फेरि डीपीआर गरिएको छ,’ उनले भने, ‘डीपीआरलाई अन्तिम रूप दिन बाँकी छ ।’ डीपीआरलाई अन्तिम रूप दिएपछि भारतको एक्जिम बैंकलाई डीपीआरबारे जानकारी गराइने उनले बताए ।

चार लेन सडक निर्माणमा लगानी गर्ने यही भारतीय बैंक हो ।

‘डीपीआरको कामलाई अन्तिम रूप दिएपछि सडक निर्माणका लागि प्रतिवेदन सडक निर्माणको लगानीकर्ता एक्जिम बैंकलाई जानकारी गराउँछौँ,’ उनले भने, ‘भारतबाट स्वीकृत भयो भने अनि बल्ल सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्छ ।’

उनका अनुसार यो सडक चार लेन वा दुई लेन विस्तार हुने भन्नेबारे भारतले नै निर्णय गर्नेछ तर आयोजनाले भने चार लेन सडकका लागि प्रस्ताव गर्नेछ ।

‘डीपीआरले मूर्तरूप पाएपछि हामीले चार लेन विस्तारकै लागि भनेर भारतलाई प्रस्ताव गर्छौं,’ उनले भने, ‘भारतबाट कस्तो प्रतिक्रिया आउँछ, लगानीकर्ताको निर्णयअनुसार चार लेन वा दुई लेन विस्तार हुने भन्ने टुंगो लाग्ने छ ।’

चार लेन सडक निर्माणको ठेक्का रद्द भएपछि सडकका खाल्डा पुरिए तर सडकको विस्तार भने भएन ।

पुरानै अवस्थाको सडकमा परेका खाल्डा पुरिए । यसले सवारी आवागमनमा केही सहज भने भएको छ ।

धुलोबाट यात्रु जोगिए तर साँघुरो सडकका कारण निम्तिएको सवारी दुर्घटनाको जोखिम भने कायमै छ ।

सवारी साधनको चाप र साँघुरो सडकका कारण यो सडक खण्डमा दिनहुँजसो दुर्घटना भइरहेका छन् ।

वि.सं २०७५ माघ १४ गतेदेखि चार लेन सडक निर्माण गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले नेपाल सरकारबाट ठेक्का पाएको थियो ।

सडक विस्तार गर्ने जिम्मा पाएको यो भारतीय कम्पनीले स्थानीय पेटी ठेक्का कम्पनी (नेपालका निर्माण कम्पनी) लाई निर्माणको जिम्मा दियो ।

चार लेन सडक आयोजनाका अनुसार सडक चार लेन गर्ने ठेक्का पाएको भारतीय निर्माण कम्पनीले ६/७ वटा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । ती कुनै पनि कम्पनीले चार लेन सडक निर्माणको काममा गति दिन सकेनन् ।

२०७८ साउन २७ मै निर्माण सकिसक्ने गरी सम्झौता भएको योजनाको सम्झौता अवधिलाई विभिन्न कारण देखाउँदै पटक–पटक लम्ब्याइयो ।

पहिलो चरणमा कोरोना संक्रमणलाई कारण देखाएर २०७९ वैशाखसम्म म्याद थप भएको यो योजनाको अवधि यसै वर्षसम्म पुग्यो ।

तर पाँच वर्षको अवधिमा भएको कामको प्रगति भने जम्मा नौ प्रतिशतमात्रै रह्यो ।

ठेक्का सम्झौता भएको पाँच वर्षको अवधिसम्म पनि कामले गति लिन नसकेपछि सडक आयोजना ठेक्का रद्दको प्रक्रियामा लाग्यो ।

सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीसँग सरकारले गत जेठमा ठेक्का तोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *