३५० मजदुरको भरमा ५०० करोडको आयोजना

सडक विस्तार भइसकेकाले नारायणगढबाट मुग्लिनसम्म आइपुग्ने सवारीसाधन र यात्रुलाई खासै सकस छैन ।

तर जब मुग्लिन बजार काटिन्छ, तब सडकमा बडेमानका खाल्डाहरु भेटिन थाल्छन्, सवारी साधनहरुले साँघुरो सडकमा धरापजस्ता खाल्डा छल्न सक्ने अवस्था नभएकाले सास्ती फेरि सुरु हुन्छ ।

मुग्लिनबाटै गाडीले यात्रुलाई नमज्जाले उफार्न थाल्छ । यो सिलसिला सडक केही चुस्त रहेका ठाउँबाहेक काठमाडौंसम्म नै चल्छ ।

काठमाडौं आउने–जानेका लागि राजमार्गको यात्रा झन् असजिलो बनेको छ ।

हेटौंडा र बुटवलतिरबाट आएका सवारी साधन हुन् कि पोखरातिरबाट, सबैलाई काठमाडौंसम्मको यात्रामा यो बाटो छिचोल्नु कष्टपूर्ण हुन्छ ।

बुटवल र पोखरातिरबाट आउनेहरुलाई त तुलानात्मक रुपमा यो सडक केही सजिलो नै लाग्न सक्छ ।

तर, यात्राभरि खाल्डो, धुलो र हिलोले कतै नछाड्दा यात्रुहरु अत्ताल्लिसकेका हुन्छन् ।

‘बुटवल यताको बाटो त सम्झिनै नसकिने खालको छ, मलेखुसम्म आइपुग्दा यो देशमा सरकार छ अनि त्यसले काम गरिरहेको छ भन्ने कतै महसुस भएन,’ दाङ पुगेर फर्किंदै गर्दा मलेखुमा कार रोकेर माछा खाइरहेका काठमाडौं मैतीदेवीका सोहन प्रधान भन्छन्, ‘यता पनि बाटो बनाउने नाममा भएको बाटो पनि बिगारेरै छाड्न थालिएछ ।’

काठमाडौंको ‘लाइफलाइन’ सडकको मुग्लिन–मलेखु खण्ड विस्तारका लागि एक वर्षअघि नै ठेक्का लागेको हो ।

सडक विभागले मुग्लिनबाट नागढुंगासम्मको सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गर्न ३ खण्डमा ठेक्का लगाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा विस्तार थालिएको ३९ किलोमिटरको मुग्लिन–मलेखु खण्डलाई ‘नागढुंगा–मुग्लिन पश्चिम खण्डको आयोजना’का रुपमा खडा गरिएको छ ।

यो खण्ड विस्तारका लागि ७ पुस २०७९ (२२ डिसेम्बर २०२२)मा  ‘शर्मा जेआईसीजी जेभी’सँग ठेक्का सम्झौता भएको थियो ।

यो ठेक्का लागेपछि सडक विभागले मर्मतमा थप खर्च गर्न छाडेको छ । ठेकेदारले नै सवारी चल्न सहज हुने गरी चुस्त राख्नुपर्ने व्यवस्था खरिद सम्झौतामा गरिएको आयोजना प्रमुख केदारप्रसाद नेपालले बताए ।

त्यसैअनुसार पटक–पटक ठेकेदारलाई सडक मर्मत गरेर सवारी चल्न सक्ने गरी दुरुस्त राख्न भनेको र काम पनि भइरहेको उनको दाबी छ ।

तर, दशैं अघि खाल्डाहरु पुरिएको सडक फेरि पुरानै अवस्थामा पुगिसकेको उनले बताए ।

यसबारे मासिक रुपमा ठेकेदारसँग हुने बैठकमा ध्यानाकर्षण गराइरहेको र अब बस्ने बैठकमा पनि गम्भीर चासो व्यक्त गरिने नेपालले बताए ।

तर, स्थानीय बासिन्दाहरु भने ठेकेदारले सुरुदेखि नै सडकको खाल्डा हेर्न र पुर्न छाडेकाले भविष्यमा झन्–झन् समस्या थपिंदै जाने त्रासमा छन् ।

ठेकेदार कम्पनी तीव्रताका साथ काम गर्ने गरी फिल्डमा नआएको कुरिनटारका स्थानीय संयम सिलवाल बताउँछन् ।

‘यो सडकखण्डमा ठेकेदार कम्पनी काममै भेटिंदैन, सडकको खाल्डाबारे यदाकदा भेटिने इन्जिनियरलाई सोध्यो भने हामीलाई थाहा हुन्न भन्छन्,’ सिलवाल भन्छन्, ‘ठाउँ–ठाउँमा सडकको भित्ता खनेर छाडेर धुलो मात्रै थप्ने काम भएको छ, धेरै ठाउँमा त सडक विस्तारको लागि काम नै सुरु भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *