६ पुसमा भारतबाट काठमाडौंका लागि फर्निचरजन्य सामग्री बोकेर आएको आरजे–०२ जीबी ५२०४ नम्बरको ट्रक दाउन्ने डाँडा कटेर ओरालो झर्दै गर्दा पल्टिएपछि भारतीय श्रमिकहरु सुरुमा रनभुल्ल परे ।
विस्तारको क्रममा खाल्डैखाल्डा भएका सडकमा अरु गाडीले उडाएको धुलोमा रुमल्लिएपछि चालकले नियन्त्रण गुमाउँदा ट्रक पल्टिएको थियो ।
नेपाली आयातकर्ता ‘पार्टी’लाई सम्पर्क गरेर अर्को ट्रकमा सामान लोड गर्न गाडीका मजदुरलाई एक दिन लाग्यो ।
‘नेपालको बाटोमा माल बोकेको सवारी जोगाउनै मुस्किल छ, यस्तो रद्दी बाटोमा पनि मान्छेले सवारी चलाइरहेका छन्’ पल्टिएको ट्रक कुरिरहेका एक यातायात मजदुरले भने, ‘यो बाटोमा सधैं गाडी चलाइरहनेहरुलाई सलाम नै गर्नुपर्छ ।’
अनलाइनखबरको टोली ६ पुसमा बुटवल–नारायणगढ सडकको यात्रामा निस्किंदा चोरमाराको जंगलमा एस्काभेटर बोकेको ट्रक र बर्दघाटको ‘एस मोड’मा गिट्टी बोकेको ट्रिपर पनि पल्टिएको देखिएको थियो ।
राजमार्ग आसपासका स्थानीयहरुका अनुसार बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक र यात्रुवाहक सवारी साधनहरु दिनहुँ पल्टिरहन्छन् ।
दाउन्नेको उकालोमा बिग्रिएका सवारी साधनहरु भेटिनु त सामान्य भइसकेको छ ।
सडकको दुरवस्थाका कारण यात्रु र सवारी चालकहरुलाई सास्ती त भएको छ नै, लाखौं लगानी गरेका यातायात व्यवसायीको त रोजीरोटीको माध्यम नै धरापमा परेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्ड विस्तार सुरु गरेको पाँच वर्ष पुगिसक्दा पनि बनाउनेभन्दा बढी भत्काउने काम जारी छ ।
५ वर्ष बितिसक्दा समेत आधा पनि काम नभएपछि अब सडक छिट्टै बन्छ र तत्कालै व्यावसायिक वातावरणमा सुधार हुन्छ भन्नेमा यातायात व्यवसायीहरु विश्वस्त छैनन् ।
अझ सरकारले मुग्लिन–नागढुंगा सडकखण्डमा समेत भद्रगोल र सुस्त तरिकाले काम थालेपछि व्यवसायीहरु हतोत्साही छन् ।
पोखरा-मुग्लिन सडकको हालत पनि उस्तै छ । बिहीबार मात्रै वीरगञ्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।
विस्तार भइरहेको पृथ्वी राजमार्ग अन्तर्गतको सडकमा नियन्त्रण गुमाएर बस पल्टिएको हो । राजमार्गमा यस्ता घटना सामान्य भइसकेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बुटवल–नारायणगढ सडकले पश्चिम नेपालसँग जोडिने लामो दूरीको यातायात व्यवसायलाई नै जोखिमको भूमरीमा धकेलेको बताउँछन् ।
राजमार्गहरूको दुरवस्थाले जताततै यातायात व्यवसायी प्रताडित बनेको उनको भनाइ छ ।
पश्चिममा मात्रै नभएर पूर्व–पश्चिम राजमार्गको विभिन्न खण्डसहित काठमाडौं जोडिने अधिकांश नाका सडकहरुमा पनि विस्तार र सुधारको काम चलिरहे पनि काम सुस्त हुँदा यातायात व्यवसायीका लागि अबको कही वर्ष झन् असहज बन्ने सिटौलाले बताए ।
‘पूर्वदेखि पश्चिमसम्म नै राजमार्ग निर्माण र विस्तार भइरहेका छन्, तर काम सुस्त हुँदा व्यवसायी, चालक र यो व्यवसायमा आश्रितहरु पलायन हुँदैन्’ उनी भन्छन्, ‘कोभिडपछि थलिएको यातायात व्यवसायका लागि सडकको चरम दुरावस्था अर्को महामारीजस्तो बन्न लागिसक्यो ।’
खराब सडकको कारण दुर्घटना पनि बढेर व्यवसायीले अधिक आर्थिक क्षति पनि ब्यहोरिनुपरेको र यात्रुको उपचारमा समेत व्यवसायीले ठूलो रकम खर्चिनु परेको उनले बताए ।
लामो समयसम्म सडकखण्डहरु विस्तारका नाममा अलपत्र बनाएर राख्दा यात्रा समय, सवारी चालक तथा यात्रुको सुरक्षा र आम मनोविज्ञानमा समेत नकारात्मक असर पारेकाले यातायात व्यवसायमा त्यसको अप्रत्यक्ष प्रभाव देखिएको वरिष्ठ उपाध्यक्ष सिटौला बताउँछन् ।
व्यवसायीलाई सवारीको मर्मत तथा सञ्चालन खर्च बढेको, सवारी मजदुरको व्यवस्थापन जटिल भएको र व्यवसायमा धेरै जोखिम लिनुपर्ने अवस्था आएको सिटौलाको भनाइ छ ।
‘हामीसँग कति व्यवसायीले कस्तो क्षति बेहोरे र कति पलायन भए भन्ने यकिन तथ्यांक त छैन, तर कस्तो अवस्थामा अहिले यो व्यवसाय टिकिरहेको छ भन्ने कुरा यातायात व्यवसायी र कम्पनीहरुलाई मात्रै थाहा छ,’ उनले भने ।
Post Views: 251