विस्तारमा ढिलासुस्ती, स्थानीयलाई सास्ती

परासी : नवलपरासीमा रहेका हुलाकी सडकको दुर्दशाले स्थानीयलाई सास्ती भएको छ। हुलाकी सडक विस्तारको काममा भएको ढिलासुस्तीले स्थानीय आजितसमेत भएका छन्।

जिल्लाका तीन छुट्टाछुट्टै खण्डमा सडक विस्तारको काम भइरहेको छ। २०७६ सालमा तीन खण्डको सडक विस्तार गर्न ठेक्का लगाइएको थियो।

तीन खण्डअन्तर्गत प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिकासम्मको सडक विस्तार, परासीदेखि नारायण चोकसम्मको सडक विस्तार र नारायण चोकदेखि त्रिवेणीसम्मको सडक विस्तारका लागि सडक विभागको हुलाकी राजमार्ग निर्देशानलयले ठेक्का लगाएको हो।

सडक विस्तार गर्ने सम्झौता अवधि सकिएपछि ती सडक खण्डको दुई÷दुई पटक म्याद थपिएको छ।

गएको मंसिरको म्याद दिएर दोस्रो पटक म्याद थप्दा पनि काम नसकिएपछि आउँदो असारसम्म काम सक्ने गरी म्याद थप्ने तयारी गरिएको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिंगे कपिवस्तुका इन्जिनियर युवराज पाण्डेले बताए।

समयमा काम नसक्दा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याले स्थानीय आजित छन्।

ठेकेदारले निर्माणमा ढिलाइ गरेपछि स्थानीयले पटकपटक चक्काजामसमेत गरेर विरोध गर्दै आएका छन्।

विभिन्न स्थानमा निर्माण सामग्री राख्ने र कल्भर्ट निर्माणका लागि सडक भत्काएर नपुर्दा आवतजावतमा समस्या भएको सरावलका दीपक शर्माले गुनासो गरे।

काम ढिलो भएको बारेमा निर्माण कम्पनीहरूले कोभिड र  नदीजन्य पदार्थको अभावको बहाना बनाउँदै आएका छन्।

पछिल्लो पटक पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड विस्तार थालिएपछि हुलाकी सडकलाई विकल्पका रूपमा प्रयोग गर्न थालिएको छ।

अहिले पूर्वबाट पश्चिम जाने सवारीसाधन बर्दघाटदेखि नारायणचोक भएर परासीहुँदै भैरहवा जाने गरेका छन् भने पश्चिमबाट पूर्व जाने सवारीसाधन पनि सोही मार्ग भएर राजमार्ग पुग्ने गरेका छन्।

जसले गर्दा हुलाकी सडकमा सवारी चाप बढेर थप समस्या सिर्जना गरेको छ। सवारीको चाप बढ्दा वरिपरिका बस्ती धुलोले ढाकिन थालेका छन्।

साइकल, मोटरसाइकल र पैदल यात्रीलाई समेत धुलोका कारण सास्ती हुने गरेको छ। धुलोका कारण मानव स्वास्थ्यदेखि खेतीपातीमा समेत असर पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *