विद्युतीय कार उत्पादनमा आक्रामक रहेको टाटा मोटर्सले कमर्सियल सेगमेन्टमा पनि विभिन्न मोडलहरु ल्याउने भएको छ।
अहिले टाटाको लाइट कमर्सियल गाडी टाटा एस ईभी भारत तथा नेपाली बजारमा समेत उपलब्ध रहेको छ।
एस ईभीपछि टाटा मोटर्सको चर्चित सुमो एसयूभी ईभी भर्सनमा आउने भएको छ।
विगतमा नेपाली बजारमा समेत मध्यम रुटलगायत क्षेत्रमा राम्रो चलेको सुमो गोल्ड विगत कही वर्षयता आईसी इन्जिनमा उत्पादन नै बन्द भएको थियो।
अब भने टाटा मोटर्सले आईसी इन्जिनको तुलनामा आकर्षक डिजाइनमा सुमो ईभी ल्याउने भएको हो। योसँगै टाटा सुमोले दोस्रो जीवन पाउँदैछ।
टाटा ह्यारियर र सफारी फेसलिफ्ट मोडलबाट केही विशेषताहरु सुमो ईभीमा समावेश गरिने भएको छ।
ठूलो आकारको टचस्क्रिनसहितको इन्फोटेनमेन्ट सिस्टम, पूर्णडिजिटल इन्ट्रुमेन्ट कन्सोल र टाटाको नयाँ टू-स्पोक स्टेरिङ ह्वील पनि सुमो ईभीमा उपलब्ध हुनेछ।
टाटा मोटर्सको पाइपलाइनमा रहेको ह्यारियर ईभी र सफारी ईभीबाट नै सुमो ईभी बढी प्रभावित हुनेछ।
सुमो ईभीले एक पटकको फुल चार्जमा ४ सयदेखि ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। माथिल्लो मूल्य पर्ने सुमो ईभी धेरै रेन्जमा आउने छ।
सुमो ईभीको पर्फरमेन्स आईसी इन्जिनयुक्त सुमोको तुलनामा उत्पकृत हुने अपेक्षा धेरैले गरेका छन्।
बन्द हुनुपूर्व सबैभन्दा पछिल्लो पटक आईसी इन्जिनयुक्त सुमो गोल्ड ३.० लिटर फोर-सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध थियो। यो इन्जिनले ८५ बीएचपी अधिकतम पावर र २ सय ५० एनएम टर्क उत्पन्न पर्छ।
जतिबेला टाटा सुमो बजारमा चर्चित हुन थाल्यो त्यतिबेलादेखि नै यसको मुख्य प्रतिस्पर्धीका रुपमा महिन्द्रा बोलेरोलाई लिइन्थ्यो।
बोलेरो र सुमोबीच २०१९ मा सुमोको उत्पादन बन्द नहुँदासम्मै प्रतिस्पर्धा भइ नै रह्यो। उक्त प्रतिस्पर्धा भारतीय बजारमा मात्र नभएर नेपाली बजारमा पनि रोचकै चलेको थियो।
त्यतिबेलाको प्रतिस्पर्धा अब विद्युतीय भर्सनमा पनि हुने निश्चितप्रायः छ। महिन्द्राले पनि बोलेरो ईभी ल्याउने तय गरिसकेको छ।
टाटाले पनि सुमो ईभी ल्याउने बताइसकेकाले बोलेरो ईभी र सुमो ईभीबीच कस्तो प्रतिस्पर्धा हुनेछ त्यो भने उत्पादन बजारमा आएपछि नै थाहा हुनेछ।
Post Views: 339