यातायातसम्बन्धी सामान्य कामका लागि पनि दाङ पुग्नुपर्ने बाध्यता रहेको भन्दै सरोकारवालाहरुले रोल्पामै यातायात व्यवस्था कार्यालय स्थापना हुनुपर्ने माग गरेका छन्।
‘रोल्पामा यातायात कार्यालय नहुँदा सानो कामका लागि पनि दाङ पुग्नुपर्छ,’ रोल्पा जलजला यातायात प्रालिका यज्ञश्वर आचार्यले भने, ‘सवारी अनुमतिपत्र नवीकरण, पटके लगायत सबै काममा बाहिर जानुपर्छ, त्यसको कुनै न कुनै संयन्त्र रोल्पामा हुनुपर्छ ।’
हिमताल यातायात प्रालिका सफल बुढामगरले पनि यातायातसम्बन्धी कुनै पनि सरकारी काम रोल्पामा नहुनु दुर्भाग्य भएको बताए।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एउटै प्रकृतिको सवारीसाधनमा फरक-फरक सिट क्षमताको अनुमति दिएर यातायात व्यवस्था कार्यालयले बेइमानी गरेको बताए।
रोल्पामा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि पहल गरिए पनि सम्बन्धित प्रदेश मन्त्रालयले आनाकानी गरिरहेको आरोप लगाए।
प्रदेश यातायात मन्त्रालयका अधिकृत (आठौँ) टुकराज पाण्डेले भने प्रदेशको दुई ठाउँमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि प्रस्ताव गरिए पनि रोल्पाको विषयमा ध्यानाकर्षण भएको बताए।
कार्यालय स्थापनाको कुरा मन्त्रिपरिषद्को निर्णयबाट हुने भन्दै उनले कार्यालय स्थापनाका लागि राजनीतिक तहबाट पनि दबाब दिनुपर्ने बताए।
लुम्बिनी प्रदेशअन्तर्गत उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयको आयोजना तथा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पा र घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाको व्यवस्थापनमा सोमबार रोल्पाको लिवाङमा आयोजित सवारीचालक सचेतना अभिवृद्धि कार्यक्रममा विभिन्न कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो।