धनगढीमा सडक निर्माणको काम पूरा हुन सकेन

तेस्रोपटक थप गरिएको समयावधि सकिए पनि धनगढी मुख्य बजार क्षेत्रको सडक निर्माणको काम पूरा हुन सकेको छैन ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले धनगढीमा मुख्य बजारसहित नगरभित्र १०.६०७ किलोमिटर अत्याधुनिक सडक निर्माण गरिरहेको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ७६ करोड ९० लाख ७६ हजार रुपैयाँ लागतमा फुटपाथ, नाली र सडक बत्ती भएको आधुनिक सडक निर्माण भइरहेको हो ।

कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको यी सडक निर्माणमा भने चरम ढिलासुस्ती भइरहेको छ ।

हालसम्म सडक निर्माणको प्रगति करिब ८३ प्रतिशत मात्र रहेको आयोजना कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले बताए ।

आयोजना कार्यालयका अनुसार मुख्य बजार क्षेत्रको सडक निर्माणको काम ६० प्रतिशत मात्र भएको छ ।

१०.६०७ किलोमिटर सडक निर्माणका लागि तेस्रोपटक थप गरिएको अवधि गत १४ कात्तिकमा सकिएको छ ।

तेस्रोपटक थप गर्दा पनि काम पूरा नभएपछि चौथोपटकका लागि तीन महिना म्याद थप्न केन्द्रमा सिफारिस गरिएको सूचना अधिकारी कलौनीले बताए ।

अहिलेकै गतिमा काम भए थप गरिएको अवधिमा पनि आयोजनाले पूर्णता नपाउने देखिएको आयोजना कार्यालयले जनाएको छ ।

‘अहिले परिचालन भएको जनशक्ति र उपकरण तथा अहिलेकै काम गराइको गतिले चौथोपटक थप गरिएको समयभित्र पनि सडक निर्माणको काम पूरा हुने देखिँदैन,’ उनले भने, ‘जनशक्ति र उपकरण थप गर्ने हो भने अब धेरै समय पनि लाग्दैन ।’

निर्माण कम्पनीले ६ महिना म्याद थपको माग गरे पनि आगामी ३१ जनवरीसम्म मात्र म्याद थप भएको उनले जानकारी दिए ।

सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् ।

मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त हुँदा आवतजावतमा समस्या हुनुका साथै व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।

निर्माणाधीन सडकका खाल्टाखुल्टी र धुलोले आउजाउ गर्न समस्या हुने गरेको स्थानीय सिद्धराज जोशीले बताए ।

मुख्य बजार क्षेत्रमा नाली निर्माणको काम पूरा भएर अहिले भरान गर्ने र बीचमा मिडियन निर्माण गर्ने काम भइरहेको छ ।

मुख्य बजारमा विद्युत्का पोलको मापदण्डमा प्राविधिक समस्या देखिएकाले पनि सडकको काम केही प्रभावित भएको थियो ।

‘विद्युत्का पोलको उचाइ नौ मिटर हुने हाम्रो स्टिमेट थियो, तर विद्युत् प्राधिकरणको मापदण्ड ११ मिटर हुनुपर्ने रहेछ, यसले केही समय ढिला भयो,’ आयोजना प्रमुख रमेश थिङले भने ।

यी सडक दुई वर्षभित्र निर्माण गरिसक्ने सर्तसहित कालिका कन्स्ट्रक्सनसँग २८ असार ०७७ मा सम्झौता भएको थियो ।

दोस्रोपटक थप गरिएको अवधि सकिएपछि मात्र निर्माण कम्पनीले मुख्य बजार क्षेत्रमा सडक निर्माणको काम अगाडि बढाएको थियो ।

बजार क्षेत्रमा विद्युत्को पोलका कारण केही समय काम प्रभावित भए पनि अन्य खण्डमा भने निर्माण कम्पनीका कारण कामले पूर्णता पाउनमा ढिलासुस्ती भएको आयोजना कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले भने सडकको क्षेत्राधिकार र विद्युत्का पोलमा समस्या हुँदा काममा ढिलाइ भएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *