वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालय फेरि राजश्व संकलनको लक्ष्य भेट्याउन असफल भएका छन्।
देशको कूल आयात निर्यातको झण्डै ७० प्रतिशत कारोबार हुने वीरगन्ज नाकामा वीरगन्ज भन्सार एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय छन्।
चालु आर्थिक वर्षको सुरुवाती दुई महिना राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएका यी दुवै भन्सार कार्यालयको दसैं तिहार जस्ता ठूला चाडपर्वका कारण गत असोजमा भने राजश्व संकलनमा व्यापक सुधार आउने अपेक्षा गरिएको थियो।
तर गत असोजमा पनि यी दुवै भन्सार कार्यालयले फेरि राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएका हुन्।
राजश्व विभागले वीरगन्ज भन्सारलाई गत असोज महिनामा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो।
तर वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ६४ दशमलव ३५ प्रतिशतमात्र अर्थात् १४ अर्ब २७ करोड ४४ लाख २१ हजार रुपैयाँ मात्र राजश्व उठाएको छ।
त्यसैगरी, चालु आर्थिक वर्षमा साउनदेखि असोजसम्म तीन महिनामा विभागले ५६ अर्ब ८४ करोड ६३ लाख ९२ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ६८ दशमलव ३५ प्रतिशतमात्र अर्थात् ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार रुपैयाँ मात्र राजश्व उठाउन सकेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए।
वीरगन्ज भन्सार कार्यालयले गत भदौ र साउन महिनामा पनि राजश्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन।
वीरगन्ज भन्सार कार्यालयले गत भदौंमा लक्ष्यको ६५ दशमलव ५९ प्रतिशतमात्र र गत साउनमा पनि लक्ष्यको ७५ दशमलव ९६ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेको थियो।
वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत बरुवाल असोज महिनामा दसैं, तिहारजस्ता पर्वमा आयात बढेर गत असोजमा राजस्व असुली बढ्ने अनुमान गरिएको भए पनि राजश्व बढी उठ्ने मालवस्तुको आयात नै कम भएकाले राजश्व संकलनको लक्ष्य पूरा गर्न नसकिएको बताए।
उनका अनुसार वीरगन्ज भन्सार कार्यालयमा राजश्व बढी उठ्ने वस्तुमा नयाँ सवारी साधन , इन्धन, औद्योगिक कच्चा पदार्थ इत्यादि हुन्।
तर साउनदेखि नै ती यी वस्तुको आयात नै कम भइरहेकाले त्यसको सिधा असर राजश्व संकलनमा परेको उनले बताए।
यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयपनि गत असोजमा राजश्व संकलनको लक्ष्य भेट्याउन असफल भएको छ।
राजश्व विभागले गत असोज महिनामा ५ अर्ब ३९ करोड १० लाख ९९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य सुक्खा बन्दरगाह भन्सारलाई दिएको थियो।
तर उसले पनि लक्ष्यको ७४ दशमलव ५२ प्रतिशत मात्र अर्थात् ४ अर्ब ४६ करोड ४१ लाख ७३ हजार रुपैयाँमात्र राजश्व उठाएको छ।
त्यसैगरी,राजश्व विभागले सुक्खा बन्दरगाह भन्सारलाई चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा १५ अर्ब ६० करोड ९८ लाख २५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो।
तर सुक्खा बन्दरगाह भन्सारले उक्त तीन महिनामा लक्ष्यको ८४ दशमलव ०३ प्रतिशतमात्र अर्थात १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत सुशील शर्माले जानकारी दिए।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत भदौ महिनामा पनि लक्ष्य भन्दा करिब १५ प्रतिशत कम अर्थात् लक्ष्यको ८५दशमलव १५ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो।
गत असोज महिनामा भने पाँच दिनसम्म मुआब्जा पीडित जग्गाधनीहरूले भन्सारको गेटमै धर्ना दिएका कारण पाँच दिन भन्सार कार्यालयको सेवा ठप्प भएकाले त्यसको प्रत्यक्ष असर राजश्व संकलनमा पर्न गई लक्ष्य भन्दा कम राजश्व उठेको शर्माले बताए।
सुख्खा बन्दरगाह र आईसिपी बीचको ६२ बिघा जग्गा सरकारले ७ वर्षदेखि अधिग्रहण गरेर रोक्का गरेको तर मुआब्जा भने नदिएको भन्दै जग्गाधनीहरूले असोज १४ देखि १८ गतेसम्म सुख्खा बन्दरगाह भन्सारको मूलगेटमै पाँच दिनसम्म धर्नामा बसेर प्रदर्शन गरेका थिए।