इजरायल–हमास युद्ध : तेलको भाउमा कस्तो पर्ला असर ?

काठमाडौँ : इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा फेरबदल देखिन थालिसकेको छ ।

युद्धले मध्यपूर्वमा तेलको उत्पादनमा कस्तो प्रभाव पार्ला भन्नेबारे अड्कलबाजी बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिन थालेको हो ।

सोमबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४ दशमलव २ प्रतिशतले बढेर ८८ डलर १५ सेन्टमा उक्लियो ।

न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्लयूटीआई)को भाउ पनि उक्त दिन ४ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल ८६ डलर ३८ सेन्टमा उक्लियो ।

यसैबिच मंगलबार तेल बजारमा भाउ केही घटेको छ ।

यो समाचार तयार पार्दासम्म मंगलबार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको भन्दा शून्य दशमलव ६ प्रतिशत र डब्लयूटीआई शून्य दशमलव ४९ प्रतिशत तल किनबेच हुँदै थियो ।

इजरायल र गाजा दुवैले उल्लेख्य रूपमा तेल उत्पादन गर्ने होइनन् ।

अहिले अधिकांशलाई डर चाहिँ यो युद्धले मध्यपूर्वभर नै अस्थिरता उत्पन्न गराउने अनि सो क्षेत्रको तेल उत्पादन वा तेलको ढुवानी प्रभावित हुने हो कि भन्नेमा छ ।

मध्यपूर्वमा इरान, साउदी अरब जस्ता विश्वका शीर्ष तेल उत्पादक देशहरू छन् ।

विश्वको तेल बजारमा महत्त्वपूर्ण चेकप्वाइन्टको रूपमा रहेको हर्मुज खाडी पनि यही पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *