भारतमा बस दुर्घटना

भुवनेश्वर : ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् ।

दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ । यात्रुवाहक बस कोलकाताबाट पुरी जाँदै गरेको थियो ।

बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो ।

घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो । सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए ।

घटनामा बस ड्राइभरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ ।

प्रहरीले तिर्थालुका लागि खानाको व्यवस्था गरेर उनीहरूलाई आफ्नो गन्तव्यतर्फ पठाएको छ ।

बसमा सवार रहेका कमलेश कुमार मिश्राका अनुसार तिर्थालुहरु जगन्नाथको दर्शनका लागि जाँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *