यातायात व्यवसायी भन्छन्, ‘सडकका कारण दसैँका यात्रु समयमै गन्तव्यमा पुग्न कठिन हुनसक्छ ’

काठमाडौँ : सरकारले समयमै सडक मर्मत नगर्दा दसैँका  यात्रुहरूले समयमै गन्तव्यमा पुग्न कठिनाइ हुनसक्ने यातायात व्यवसायीले बताएका छन् ।

दसैँका लागि आजबाट सुरु भएको अग्रिम टिकट बुकिङमा यात्रुहरूको उल्लेख्य चाप रहे पनि सडकको अवस्थाले गर्दा यात्रुहरूले सोचेजस्तो सहजै यात्रा नहुन सक्ने उनीहरुले बताएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुहरूको सुरक्षा र सहज सेवा प्रदान गर्न यातायात व्यवसायीले सक्दो प्रयास गरिरहेपनि कतिपय स्थानमा सडकको जीर्ण अवस्थाले केही कठिनाइ उत्पन्न हुनसक्ने बताए ।

उनले चाडवाड र भीडभाडका बेला यात्रुहरूले पनि सजगता अपनाउनुपर्ने भन्दै भाडामा नठगिउन् भनेर  यातायात व्यवस्था विभागको वेबसाइटमा भाडादर राख्न लगाएको बताए ।

यात्रुहरूको सहजताका लागि काठमाडौँका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने भन्दै जतिसक्दो छिटो यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन आफ्नोतर्फबाट पहल हुने उनको भनाई छ ।

‘मुग्लिन–पोखरा ८० किमी सडक अस्तव्यस्त छ । बुटवल, विराटनगर, काभ्रेको भकुण्डेलगायतका सडक मर्मत भएका छैनन् ।

हामीले बिग्रेका सडक मर्मत गर्न पटकपटक भनेका छौ’, सिटौलाले भने, ‘ती सडक मर्मत भए र ट्राफिक प्रहरीले पनि चेकजाँचको बहानामा अनावश्यक समस्या नदिए यात्रा सहज हुन्छ ।’

उनले यात्रुहरूलाई पनि आधिकारिक काउन्टरमा पुगेर टिकट काट्न तथा जानुपर्ने स्थान र आफूले तिरेको पैसा खुलाएको टिकट मात्र लिन आग्रह गरे ।

सिटौलाले व्यवसायीले दशैका बेला भाडा नबढाएको भन्दै भाडा बढेको भन्ने हल्लामा सत्यता नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *