काठमाडौँ — दसैं आउन धेरै छैन । तर दैनिक सवारी चाप हुने सडकको अवस्था लथालिंग छ ।
विस्तार होस् या सडक बनाउने नाममा ठाउँ–ठाउँमा जथाभावी सडक भत्काइएको छ ।
यसको एउटा उदाहरण हो, नारायणगढ–बुटवल सडक । यो सडकमा यात्रुले गत वर्ष जस्तै यो वर्षको दसैंमा पनि यात्रामा सास्ती खेप्नुपर्नेछ ।
सडक खनिएको छ, कालोपत्र गरिएको छैन । खाल्डाखुल्डी छन्, पुरिएको छैन ।
विस्तारको ठेक्का चिनियाँ कम्पनीले लिए पनि प्रगति नभएपछि ०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएको थियो ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति थालिएको सडकमा पछि फेरि ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएको भन्दै आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो ।
यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
काममा प्रगति नभए पनि दोस्रो पटक म्याद थपिएको छ ।
आयोजनाका अनुसार ०८१ असार दोस्रो सातासम्मका लागि म्याद थपिएको छ । निर्माण थालेको ५ वर्ष बित्दा भौतिक प्रगति ३९ प्रतिशत छ ।
ठेक्का ०७५ पुस ५ मा भएको हो । ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।
सम्झौताअनुसार ०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने हो । यो सडक खण्डमा पहिलाको तुलनामा केही सुधार भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन् ।
‘कालोपत्रको काम सुरु भएपछि प्रगति बढ्छ,’ उनले भने, ‘ठेक्का लिने कम्पनीले ०८० पुससम्म ५० प्रतिशत प्रगति पुर्याउने प्रतिबद्धता जनाएको छ ।’
निर्माण कम्पनीले दुई वर्षको म्याद मागे पनि एक वर्ष मात्र थपिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना चूडाराज ढकालले जनाए ।
‘काममा प्रगति बढाउन सके १८ महिनासम्म म्याद थप्न सकिन्छ,’ उनले भने, ‘तर अहिले तयारी पुगेको छैन, सुरुमा दुई लेन सडक कालोपत्र गर्न भनिए पनि त्यसअनुसार काम हुन सकेको छैन ।’
यसो गर्न सकिए धूवाँ, धूलो कम र सबैखाले यातायातका साधन सञ्चालनमा सहजता हुने उनको भनाइ छ ।
यो सडकको कुल दूरी ११३ किमि छ । यसमध्ये ५ वर्षमा ३० किमि मात्र दुई लेन सडक कालोपत्र भएको छ ।
‘गत वर्षको तुलनामा यस वर्ष धेरै काम भएको छ,’ उनले भने, ‘तर, जुन रूपले कामको गति बढ्नुपर्ने हो, त्यसअनुसार बढेको छैन ।’
उनका अनुसार नजिकिएको चाडबाडलाई दृष्टिगत गरी खाल्डाखुल्डी पुर्न र सडकलाई सहज बनाउन ठेक्का लिने कम्पनीलाई भनिसकिएको उनले बताए ।
दैनिक अत्यधिक सवारी चाप हुने पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड स्तरोन्नतिको काम थालेको तीन वर्षमा भौतिक प्रगति न्यून छ ।
आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै ०७७/७८ मा यसको ठेक्का लगाइएको हो ।
पश्चिम खण्डको काम सन्तोषजनक छैन । पहिलो खण्डको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको ढकालको भनाइ छ ।
‘पहिलो खण्डको काम ठीकै छ । तर दोस्रो खण्डमा कामको प्रगति सन्तोषजनक छैन,’ उनले भने, ‘यस्तै अवस्था रहे र काममा सुधार नभए दोस्रो खण्डको ठेक्का तोड्नुको विकल्प छैन ।’
Post Views: 228