बिवाईडीको नयाँ गाडी डल्फिन नेपाली बजारमा सार्वजनिक भएको छ ।
आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ह्याचब्याग सेगमेन्टको बहुप्रतिक्षित ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको बिवाइडी डल्फिनको सुरुवाती मूल्य ३९ लाख ८० हजार रुपैयाँ मात्रै कायम गरिएको प्रमुख कार्यकारी अधिकृत शाहिल श्रेष्ठले जानकारी दिए ।
‘नेपाली बजारमा बिद्युतीय गाडी बिवाइडीप्रति आकर्षण बढिरहेको छ,’ उनले भने, ‘बिवाइडी डल्फिन अझै धेरै ग्राहकको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’ गाडीमा उपलब्ध फिचरहरुको तुलनामा डल्फिनको मूल्य निकै सस्तो रहेकोसमेत श्रेष्ठले दावी गरे ।
बिवाइडीका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य, प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठ, सिइओ शाहिल श्रेष्ठ लगायतले गाडी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै कलाकार आचार्यले विद्युतीय गाडीको भविष्य राम्रो रहेको बताए । ‘म आफू पनि बिवाइडी गाडी चढिरहेको छु,’ उनले भने, ‘बिवाइडी गाडी राम्रो र सुविधाजनक रहेको मैले पाएको छु ।’
भदौ २६ बाट काठमाडौंमा हुने अटो शोलाई लक्षित गरी बिवाइडी डल्फिन नेपाली बजारमा सार्वजनिक गरिएको हो । अटो शोमा बिवाइडीले डल्फिनसहित अन्य गाडीहरु प्रदर्शनमा राख्नेछ ।
गाडीमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । जसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । फुल चार्जमा ३४० किलोमिटरसम्मको रेन्ज गाडीले प्रदान गर्ने कम्पनीले जनाएको छ ।
बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ । यो सेल¥टू–प्याक (सिटिपी) प्रविधिमा आधारित छ ।
अर्थात यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ ।
यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई गर्दै क्याबिन स्पेस खुला गर्छ ।
विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । यो ह्याचब्यागमा २,७०० एमएम हिवलबेस प्रदान गरिएको छ । यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ ।
यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८–इन– १ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ । यसले गाडी चालकको कार्यसम्पादनमा धेरै सुधार गर्छ । सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ ।
कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली सुजज्जित गरेको छ । यसबाहेक बिवाइडी चालक र यात्रु सुरक्षालाई लिएर निकै संवेदनशील र सतर्क छ ।
बिवाइडीको विद्युतीय नयाँ फ्यूचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ । यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, झ्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ। यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिड अलर्ट र ३६० मोनिटर भ्यू जस्ता फिचरहरू पनि समावेश गरिएको छ । यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ ।
नेपाली बजारमा ७ सय भन्दा बढी बिवाइडी गाडी बिक्री भइसकेका छन् ।