एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा सेप्टेम्वर १ देखि ३ सम्म थाइल्याण्डमा हुने एसिया कप अफ रोड रेसिङ्गमा भाग लिन तीन सदस्यीय नेपाली टोली बैङकक् तर्फ प्रस्थान गरेको छ ।
नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आसिक लामा (काठमाडौँ) तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यस तर्फ प्रस्थान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुवँर, एफआइए वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टोलीलाई बिदाइ गर्नुभएको थियो ।
थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका आठवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् ।
२५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा ६ वटा दाया मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन् ।
नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, श्रीलंका, ताइवान र चीनका राइडर्सको सहभागिता रहने नेपाल अटोमोबाइल्स एसोसिएसनले जनाएको छ ।