उपल्लो मुस्ताङको पुल बगाएपछि….

हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीले प्रहरी चौकी भवनसहित १५ बढी घर बगाएको छ ।

आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितण्डा मच्चाएर ठूलो भौतिक क्षति भएको हो ।

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

उनका अनुसार, प्रहरी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरु विहानैदेखि घटनास्थलमा परिचालन भएर उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रहरी चौकीको भवन बगाएपनि हातहतियारका सामान भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सफल भएको प्रहरीले जनाएको छ ।

कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिक स्थल कागवेनीधाममा रहेका धर्मशाला, मन्दिर समेत बगाएको छ ।

बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए।

‘रातमा बाढी आएपछि भागदौड गरेर स्थानीयबासीले ज्यान जोगाउन सफल भए, ठूलो भौतिक क्षति भएपनि मानवीय क्षति हुन पाएन, बाढीको वितण्डाले पुरै कागवेनीको जनजिवन अस्तव्यस्त बनेको छ’अध्यक्ष गुरुङले भने ।

बाढीले घरहरु बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ ।

त्यसैगरि बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम-कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ ।

पुल बगाएसँगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्क विच्छेद भएको छ ।

बाढीले होटलमा पार्किङ गरी राखिएका दुईवटा गाडीसमेत बगाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *