नेपाल आयल निगमले पोखराको गण्डकी प्रदेशिक कार्यालयपरिसरमा एक करोड लिटर क्षमताका दुईवटा भण्डारणगृह उद्घाटन गरेको छ ।
८९ करोड लागतमा तयार भएको भण्डारणगृहले गण्डकी प्रदेशको एक महिनाको डिजेलको माग धान्न सक्ने निगमको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
सोमबार एक कार्यक्रमबीच भण्डारणगृहको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । भण्डारणगृह उद्घाटन गर्दै ऊर्जा र पेट्रोलियम पूर्वाधार सुदृढ पार्ने योजनाअनुसार पोखरामा भण्डारणगृहको क्षमता वृद्धि गरिएको बताए ।
‘पेट्रोलियम क्षेत्रमा भएको पूर्वाधार विकासले आउँदा दिनमा इन्धनको अभाव हुन सक्ने जोखिमलाई कम गर्ने विश्वास लिएका छौँ,’ उनले भने ।
पोखराको नयाँ भण्डारणगृह जर्मन प्रविधिमा आधारित उच्च प्रविधि र स्वचालित प्रणाली प्रयोग गरिएको उनले बताए ।
कार्यक्रममा उद्योग सचिव मधुकर मरासिनीले भण्डारणगृहको वृद्धिले ऊर्जा सुरक्षा प्रत्याभूति दिलाएको बताए । उनले विगतमा इन्धन अभावका कारण अर्थ व्यवस्थामै असर परेको स्मरण गर्दैै आगामी दिनमा आयल निगमको सक्षमता र विश्वास पनि बढाउन मद्दत मिल्ने अपेक्षा रहेको बताए ।
त्यस्तै, आयल निगमका कार्यकारी निर्देशक थानीले ०५८ पछि पहिलोपटक पेट्रोलियम भण्डारण क्षमता वृद्धि गरिएको जानकारी दिए ।
उनका अनुसार मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जपछि पोखरा देशकै सबैभन्दा दोस्रो ठूलो इन्धन भण्डारणगृह बनेको छ भने अमलेखगन्ज र थानकोटपछि पोखरा तेस्रो पेट्रोलियम हब बनेको छ ।
पोखरामा रहेको सात सय ६० किलोलिटर क्षमताको मट्टीतेलको स्टोरेज ट्यांकलाई पेट्रोल राख्न मिल्ने गरी परिवर्तन गरिएको र त्यसपछि पेट्रोलको पनि १० दिनलाई माग धान्ने भण्डारणगृह तयार भएको उनले बताए ।
गण्डकीमा दैनिक तीन सय २० किलोलिटर डिजेल र एक सय किलोलिटर पेट्रोलको माग छ ।
भण्डारणगृह तोकिएको दुई वर्षमै सम्पन्न गरेको भन्दै परियोजना प्रमुख तथा निगमका उपनिर्देशक मनोज ठाकुर, निर्माण कम्पनी समानान्तर–रेलिगेयर र सुपरिवेक्षक काठमाडौं विश्वविद्यालयमातहतको कलेज अफ इन्जिनियरिङलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैबीच, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि निगमले ३६ सय किलोलिटरको हवाई इन्धन भण्डारणगृह निर्माणको शिलान्याससमेत गरेको छ ।
सो परियोजनाका प्रमुख रहेका निगमका उपनिर्देशक भरत रेग्मीका अनुसार १२ सय किलोलिटर क्षमताका तीनवटा ट्यांक र एउटा पानीको भण्डारणगृह बन्नेछ ।