ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चालकले थाहा नै नपाउने गरी सवारीसाधनको गति रेकर्ड हुने यन्त्र जडान भइरहेको छ ।
तीव्र गतिमा सवारीसाधन चलाउने चालक जुनसुकै वेला ट्रफिक प्रहरीको फन्दामा पर्न सक्छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति नियन्त्रण गर्न उपत्यकाका केही स्थानमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ अर्थात् गति मापन गर्ने यन्त्र–उपकरण जडान गर्दै छ ।
जुन उपकरणले तीव्र गतिमा हुइँकिरहेका सवारीसाधनलाई मात्रै पछ्याउँछ र त्यसको रेकर्ड उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुमको ‘सिस्डक सेभ’मा जम्मा भएर बस्छ ।
त्यसका आधारमा तीव्र गतिमा सवारीसाधन हाँक्ने सवारीधनीलाई ट्राफिक प्रहरीले कारबाही गर्छ ।
ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा यस्तो उपकरण कोटेश्वर, महालक्ष्मी, सानेपा र धोबीघाटको बीचमा जडान गर्दै छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार उक्त उपकरण नेपालका सडकमा पहिलोपटक जडान गर्न लागिएको हो ।
यसअघि ‘लिडार गन’ मेसिन जडान गरिएको थियो । तर, त्यसभन्दा पनि स्मार्ट गति नाप्ने यन्त्र यसपटक जडान गर्न लागिएको हो ।
असारको अन्तिमसम्म ती ठाउँहरूमा उपकरण जडान भइसक्नेछ । ‘यो उपकरण सिसी क्यामराजस्तै हो, चालकले थाहा नपाउने गरी मेसिनले तीव्र गतिमा भएका सवारीसाधनलाई पछ्याउँछ र उनीहरूको रेकर्ड राख्छ,’ उनले भने, ‘पहिलोपटक उपत्यकाका तीन स्थानमा यो मेसिन राख्न लागिएको हो, यसअघि लिडार गन मेसिन जडान भइसकेको छ ।’
उनले तोकिएको गतिभन्दा बढी गति छ भने चालक कारबाहीमा पर्नेछन् । यो मेसिनले सवारीसाधनको फोटो र डिटेल रिड गर्छ । सो आधारमा कारबाही गर्न सहज हुन्छ ।
सडक विभागका अनुसार हाल कोटेश्वर–कलंकी र कोटेश्वर–भक्तपुर सडकमा प्रतिघन्टा ५० किमि गतिमा सवारीसाधन चलाउन पाइन्छ ।
भित्री सडकहरूमा प्रतिघन्टा ३० किमि गति हुनुपर्छ । यसबाहेक स्कुल, कलेज र मानिसको मुभमेन्ट बढी भएको ठाउँमा पनि तीव्र गतिमा सवारी हाँक्न पाइँदैन ।
– Picture: Sanjit Pariyar