सडक यात्रा कार्टुन चित्र प्रदर्शनी जेठ ५ गतेसम्म

सडक दुर्घटना न्युनिकरणका लागि ‘सडक यात्रा’शीर्षकमा कार्टुन चित्र प्रदर्शनी गरिएको छ ।

संयुक्त राष्ट्रसंघबाट आह्वान सडक सुरक्षा सप्ताह ९ मे १५–२१, २०२३० को सन्दर्भ पारेर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्टुन प्रदर्शनीको भौतिक योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार उद्घाटन गरेका हुन् ।

सडक सुरक्षालाई ध्यान दिइ व्यंग्यचित्रमार्फत‍् जनचेतना जगाउने उद्देश्यले प्रदर्शनी गरिएको हो । प्रदर्शनी कार्टुनिस्ट क्लब अफ नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद्, नेपाल प्रहरी, सडक सुरक्षा समाज तथा रोटरी क्लब इन्टरनेसनलको पहलमा गरिएको हो ।

नेपालका २६ जना कार्टुनिस्टका कार्टुन राखिएको प्रदर्शनीमा सडक दुर्घटनासँगै सर्तकता अपनाउन सजग हुनुपर्ने विषयलाई उठान गरिएको छ ।

प्रदर्शनीमा अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रवीन्द्र मानन्धर, योगेश खपांगी, केशवराज खनाल, दीपक गौतम, उमेशचन्द्र अधिकारी, राजेश मानन्धर, रामकृष्ण थापा, सागर शाह, सानुराज डंगोल, विश्व थापा, सुजिता महर्जन, कृष्णगोपाल श्रेष्ठ, पल्पसा मानन्धर, सुदर्शन सिग्देल, महेश बस्ताकोटी, आशिष खनाल, पानसिंह तोमर, रामहरि रिमाल, अकृन अधिकारी, अनुप गुरुङ र अर्पिता शाक्यका व्यंग्यचित्र राखिएको छ ।

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या प्रतिवर्ष १३ लाख ५० हजार रहेको तथ्यांक छ ।

यस्तै, नेपालमा २८ सय मानिसले हरेक वर्ष सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् ।

सडक सुरक्षा परिषद्का अध्यक्ष केशवकुमार शर्माले सडक दुर्घटना न्यूनीकरणका विभिन्न उपायमध्ये जनचेतना जगाउन कार्टुनको प्रयोग सशक्त हुनसक्ने बताए ।

कार्यक्रममा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले बोल्ड स्ट्रोकहरू, जीवन्त रङ र हास्य स्पर्शका साथ हाम्रा कलाकारले अहिलेको द्रूतगतिको संसारमा पैदलयात्री, साइकलयात्री, सवारी चालक र यात्रुले सामना गर्ने असंख्य चुनौतीलाई चित्रण गरेको सुनाए ।

उनले भने,‘कलाकारले कलामार्फत् सामाजिक जागरण ल्याउन सन्देशमूलक चित्र बनाएका हुन् । यसले सामाजिक सचेतना जगाउन विशिष्ट भूमिका खेल्न सक्छ ।’

अग्रज व्यंग्यचित्रकार अविन श्रेष्ठले सामाजिक जागरणसँगै शिक्षामूलक रुपमा कार्टुन प्रदर्शनीमा राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *