खप्तडमा केबलकार निर्माण गर्न अध्यक्ष ढकाललाई आग्रह

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि भन्दै सुदूरपश्चिमका संघीय सांसद र प्रदेश सभा सदस्यहरूको टोलीले महासंघको नेतृत्वसँग भेट गरेको थियो ।

सातै प्रदेशमा केबलकार निर्माणको नेतृत्व गरेका अध्यक्ष ढकाललाई खप्तडमा पनि केबलकार निर्माणका लागि टोलीले आग्रह गरेको थियो ।

पर्यटकीय लगायतका पूर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने ढकालको भनाइ थियो ।

भेटका क्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाहले खप्तडमा भारतीय लगायत आन्तरिक पर्यटकको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि लगानीको अवसर रहेको बताइन् ।

भेटमा सुदूरपश्चिम क्षेत्रका शाह, शेरबहादुर खड्का, प्रदेश सभा सदस्य दीर्घ सोडारी र दिपकसिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्दबहादुर शाह र हर्कबहादुर सिंह सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *