सरकारकै लापरबाहीले वर्षौँदेखि अलपत्र र अस्तव्यस्त बनेका ठूला सडक हेर्न बाहिरी जिल्ला जानै पर्दैन । संघीय राजधानीमा रहेका केही सडकको दुरावस्थाले सरकारी मानसिकतालाई प्रस्ट पार्छ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च ओहोदाका व्यक्ति दिनहुँ ओहोरदोहोर गर्ने यहाँका सडक वर्षौँदेखि अस्तव्यस्त छन् ।
ललितपुरको नख्खु–भैँसेपाटी–चुनीखेल र काठमाडौंको चाबहिल–साँखु सडकखण्ड उपत्यका भित्र ठूला सडक आयोजना भित्र पर्छन् ।
चौडासहित कालोपत्रे गर्ने गरी ०७२ र ०७३ मा यी सडकको ठेक्का लगाइएको थियो । तर, आठ वर्षदेखि दुवै सडक अलपत्र छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत ठेक्का लगाएर सुरु भएका यी सडक हालसम्म न त चौडा पारेर सकियो, न त कालोपत्र नै भएका छन् ।
ठेक्का लगाउँदा सडक चौडा पार्ने र कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीले मुआब्जा र अन्य अवरोधका कारण ठेक्काको म्याद सार्दै आएको छ ।