२५ कात्तिक २०७२ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरेका थिए । त्यसको अर्को वर्ष वैशाखमै भ्यु टावरको अन्टरग्राउन्ड पार्किङ निर्माण सम्पन्न गर्ने भन्दै पुरानो बसपार्कलाई ६ महिनाका लागि भन्दै खुलामञ्चमा सारियो । तर, भ्यु टावर निर्माणले गति लिन नसक्दा ६ वर्षपछि वैशाख ०७८ मा खुलामञ्चबाट बसपार्क हटाइयो ।
बसपार्क हटाइएसँगै पुरानो बसपार्कमा पार्क हुँदै आएका यात्रुवाहक बस अचेल तीनकुने अगाडिको मनोहरा खोला, न्युरोडको एनएसी भवनअगाडि, खुलामञ्चअगाडिको सडकमा पार्क हुने गरेका छन् ।
लामा तथा छोटा दूरीका बस सडकमै रोकिँदा ट्राफिक व्यवस्थापनमा असहज भएको छ ।
तर, भ्यु टावरमा बनाएको अन्डरग्राउड पार्किङ प्रयोग भने साना तथा दुईपांग्रे निजी सवारीसाधनले मात्र पाउने भएका छन् । भ्यु टावरको पार्किङ खुलाए पनि बसपार्कका रूपमा भने कहिलेदेखि खुल्ने टुंगो नलागेको महानगरले जनाएको छ ।