लुम्बिनीमा साढे दुई वर्षदेखि त्यतिकै थन्किएका विद्युतीय गाडी सञ्चालन गर्न बाटो खुला भएको छ।
२०७७ साल मंसिर ९ मा लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा १४ वटा विद्युतीय भ्यान र पाँच वटा विद्युतीय बस ल्याइएको थियो।
तर एडिबीले सरकारलाई उपलब्ध गराएका ती गाडी लुम्बिनी विकास कोषले कसरी सञ्चालन गर्ने भन्ने आवश्यक कानुन र सञ्चालन कार्यविधि समयमा तयार गर्न नसक्दा साढे दुई वर्षदेखि विकास कोष परिसरमा खुला आकाशमुनि थन्किएका थिए।
लुम्बिनी प्रदेश सरकारले सेतो नम्बर प्लेटमा रहेका गाडीहरू हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सञ्चालनको स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि लुम्बिनी विकास कोषलाई वर्षौंदेखि थन्काएर राखेका गाडीहरू सञ्चालन गर्ने बाटो खुलेको हो।