काठमाडौं महानगर ३० वर्ष पुराना गाडी गुडाउँदैं

सरकारले २० वर्ष पुराना सवारीसाधनलाई निस्तेज गर्ने निर्णय सात वर्षअघि नै गरेको थियो । तर, सरकारी निकायहरूले नै यो निर्णय पालना गरिरहेका छैनन् ।

अझ देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरले त ३० वर्षभन्दा पुराना गाडी गुडाइरहेको छ ।

राम्रोसँग ब्रेक नलाग्ने, धुवाँ बढी फ्याँक्ने र इन्धन बढी खपत गर्ने भए पनि महानगरले यस्ता सवारीसाधन निर्बाध रूपमा प्रयोग गर्दै आइरहेको छ ।

महानगरसँग यस्ता गाडी १६ वटा छन् । देख्दा खिया लागेका र गुडाउनसमेत जोखिम हुने भए पनि महानगरले प्रयोग गरिरहेको छ ।

महानगरले सञ्चालन गरिरहेकामा ३० वर्षभन्दा पुराना तीनवटा जिप छन । यस्तै, २० वर्ष पुराना १० वटा टाटा मोबाइल, चारवटा भ्यान, एउटा जिप, एउटा ल्यान्डक्रुजर गाडी सञ्चालनमा छन् ।

यी सवारीसाधन महानगरको वातावरण विभाग, नगर प्रहरी, बजार अनुगमन टोलीलगायतले प्रयोग गर्दै आइरहेका छन् ।

महानगरसँग गुड्ने अवस्थामा नरहेका पुराना गाडी पनि धेरै नै छन् । करिब ७० वटा यस्तो अवस्थाका गाडी रहेको महानगरको भनाइ छ । ती गाडी महानगरको कार्यालय बागदरबार र टेकुमा थन्किएका छन् ।

त्यसमध्ये ५० वटा गाडी लिलाम गर्न लिलाम समितिले प्रक्रिया अघि बढाएको छ ।

नयाँ गाडी नहुँदा पुराना थोत्रा गाडी गुडाउन बाध्य हुनुपरेको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल प्रयोग भइरहेका अधिकांश गाडी पनि पुराना भइसकेका छन् ।

महानगरका सीमित कर्मचारी र जनप्रतिनिधिले चढ्नेबाहेकका अन्य गाडी थोत्रा भएका हुन् । ‘सबैतिर परिचालन गर्नका लागि हामीकहाँ गाडीको संख्या कम छ, त्यसकारण धुवाँ धेरै फाल्ने र ब्रेक नलाग्ने अवस्था भइसक्दा पनि सवारीसाधन गुडाउनुपरेको छ,’ उनले भने, ‘यसलाई बिस्तारै हटाउँदै जान आवश्यक छ ।’

उनले पुराना गाडी बजार अनुगमन र न्यायिक समितिको काममा समेत प्रयोग भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *