उपप्रधानसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले १२ पुसमा पद सम्हालेयता दलबलसहित करिब एक दर्जन सडकको अनुगमन गरिसकेका छन् ।
आयोजनाको निर्माणलाई चुस्त बनाउन मन्त्रालयमा बारम्बार छलफल राखी निर्देशनसमेत दिँदै आएका छन् । तैपनि, सडकको दुरावस्थामा खासै सुधार आएको छैन ।
मन्त्री श्रेष्ठले २८ पुसमा काठमाडौंका भत्केका सडक मर्मत गर्नुपर्ने भन्दै भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल टेलिकमको उपमहानिर्देशक विनीता प्रधानलगायतसँग छलफल गरेका थिए ।
छलफलपछि आपसमा समन्वय गरी सडक खन्ने वा मर्मत गर्ने निर्देशन दिए पनि कार्यान्वयन भएको छैन । २९ पुुसमा मन्त्री श्रेष्ठले सरकारी अधिकारीको ठूलो टिम लिएर लाजिम्पाट, सोख्रखुट्टे र ललितपुरको भैँसेपाटी र जावलाखेल क्षेत्रको सडक अनुगमन गरेका थिए ।
अनुगमनपछि लाजिम्पाट र सोह्रखुट्टे सडकमा केही काम भए पनि भैँसेपाटी सडकमा केही सुधार भएको छैन ।
मन्त्री श्रेष्ठको निर्देशनअघि नै बाटोमा राखिएको स्काभेटर अहिले चलाउन त थालिएको छ, तर अति व्यस्त सडकमा एउटा एक्साभेटरले ढलका लागि सडक किनार खन्ने काममा मात्रै महिनौँ लगाउने देखिन्छ ।
अहिले सो सडकको दायाँ–बायाँ माटो थुप्रिएर पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने कारण सर्वसाधारणलाई थप मुस्किल बढेको छ । त्यस्तै, जावलाखेल सडक किनार मर्मत सुरु हुन सकेको छैन ।
मन्त्री श्रेष्ठले यसका अलावा भक्तपुर–नगरकोट, नारायणघाट–बुटवल, मुग्लिन–पोखरा, भरतपुर, चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत पर्ने कलंकी–स्वयम्भू–गोंगबू–महाराजगँज, गोरखाको बेनिघाट–लार्केभञ्ज्याङ सडकलगायतको अनुगमन गरिसकेका छन् ।
यसमध्ये चार वर्षदेखि अलपत्र काठमाडौं चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज) ११ फागुनमा मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अनुगमन गरेका थिए । अनुगमनको महिनादिन भए पनि चिनियाँ पक्षले ठोस निर्णय दिएको छैन ।
चिनियाँ अनुदानमा काठमाडौं चक्रपथ विस्तार गर्ने द्विपक्षीय सम्झौता यसअघि नै भइसकेको छ ।
सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकीखण्डको विस्तार कार्य ०७५ मै सम्पन्न गरिसकेको छ ।
दोस्रो खण्ड विस्तार गर्न ०७५ मै नेपाल र चीनबीच सम्झौता भए पनि त्यसको कार्यान्वयन अलपत्र छ । सडक विभागका एक उच्च अधिकारीले यस सम्बन्धमा चिनियाँ पक्षसँग छलफल मात्रै भइरहेको बताए ।
‘पछिल्लो समय चिनियाँ पक्षसँग विशेष गरी डिजाइनको विषयमा छलफल भइरहेको छ ।
हामीले त्यस सम्बन्धमा केही बुँदा सर्तहरू पेस गरेका छौँ,’ उनले भने, ‘तर, चिनियाँ पक्ष त्यसमा पूर्ण सहमति भइसकेका छैनन् । समग्रमा यो अहिले छलफलकै चरणमा छ ।’
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले मन्त्रीको अनुगमन भए पनि सडक आयोजनाहरूको निर्माण अपेक्षाकृत सुधार नदेखिएको स्विकारे ।
‘पहिलाको तुलनामा ठेकदार कम्पनीहरूले चासो दिएर काम गर्न थालेका छन् । किनकी, मन्त्रीले नै अनुगमन गर्ने तथा निर्देशन दिँदै हिँडेपछि निर्माण कम्पनीहरूलाई अब आलटाल गरेर हँुदैन भन्ने लागिसकेको छ,’ उनले भने, ‘तर, अपेक्षाकृत सुधार आएको छैन ।’