महिला अटोरिक्सा चालकलाई सम्मान

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनगढीमा अटोरिक्साचालक महिलालाई सम्मान गरेको हो।

रिक्साचालक भगवतीदेवी कुँवर, सबिता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मीरादेवी चौधरी र बास्मती दहितलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह र दृष्टि फाउन्डेसनका सञ्चालक कल्पना भट्टले श्रमिक महिलाहरूलाई सम्मान गरेका थिए।

धनगढीमा लामो समयदेखि नियमित रिक्सा चलाउने विपन्न वर्गका श्रमिक महिलालाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको सामाजिक विकास मन्त्रालयको महिला विकास अधिकृत जयन्ती गिरीले बताइन्। ‘महिला दिवस पनि श्रमसँगै जोडिएको छ।

त्यसैले श्रमिक महिलालाई प्रोत्साहन गर्न सम्मान गरेका हौँ,’ उनले भनिन्, ‘सम्मानित हुनुहुनेहरू धनगढीमा लामो समयदेखि रिक्सा चलाएर जीवन निर्वाह गर्दै आउनुभएको छ।’

महिला दिवसको अवसरमा मन्त्रालयले यसअघि सचेतनामूलक टिकटक प्रतियोगिता पनि आयोजना गरेको थियो।

कैलालीकी कामना देउवाले महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र कुप्रथाको यथार्थ चित्रण गर्दै त्यसविरुद्ध उभिनुपर्ने सन्देशसहित बनाएको टिकटक भिडियो उत्कृष्ट घोषित भयो।

योसहित महिला हिंसाविरुद्ध सचेतना फैलाउन बनाइएका तीनवटा टिकटक भिडियोलाई उत्कृष्ट घोषणा गरेर पुरस्कृत गरिएको थियो।

मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट टिकटक बनाएका तीनजनालाई नगद १० हजारसहित पुरस्कृत गरिएको गिरीले बताइन्।

कैलालीकी देउवासहित डडेल्धुराकी सबिना अवस्थी र अछामका जगत बडले बनाएको हिंसाविरुद्धको टिकटक क्लिपलाई उत्कृष्ट घोषित गर्दै उनीहरूलाई सम्मान गरिएको थियो।

महिला दिवसको अवसरमा मन्त्रालयको आयोजनामा धनगढीमा सचेतनामूलक र्‍यालीसमेत गरिएको थियो।

  • Tej Raj Bhatta@ DHANGADI

Leave a Reply

Your email address will not be published. Required fields are marked *