गुल्मी यातायातमा रूपकलाल श्रेष्ठको नयाँ नेतृत्व 

गुल्मी यातायात प्रालिको अध्यक्षमा रूपकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। गुल्मी यातायात व्यवसायी संघ रूपान्तरित गुल्मी यातायात प्रालिको वार्षिक साधारणसभा तथा अधिवेशनले नौ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको थियो।

आइतबार बसेको सञ्चालक समितिको पहिलो बैठकले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो। यसअघि श्रेष्ठ गुल्मी यातायात व्यवसायी संघको अध्यक्ष थिए।

प्रालिको सदस्यहरूमा ज्ञानहरि सापकोटा, उत्तम कुँवर, कमल श्रेष्ठ, नारायण ज्ञवाली, महेश्वकुमार राजभण्डारी, लक्ष्मण भण्डारी, महेन्द्र केसी र शंकरबहादुर थापा रहेका छन् ।

त्यस्तै, तीन सदस्यीय लेखा समिति निर्वाचित भएकाे छ।

संयोजकमा प्रकाश थापा र सदस्यहरूमा भीमबहादुर राना र प्रकाश भट्टराई रहेको निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद बलालले बताए।

गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय रुरु क्षेत्रअन्तर्गतको रिडी बजारबाट ०५१ सालमा केही न्यून संख्यामा सञ्चालित जिपहरूको भेलाले गुल्मी जिप व्यवसायी समिति गठन गरेको थियो।

तत्कालीन अवस्थामा गुल्मीका भिरपाखाका कच्ची बाटोमा यात्रुलाई सेवा दिने उद्देयले स्थापना भएको समितिले समयसापेक्ष आफ्ना सेवाहरू विस्तार गर्दै संस्थाको नाम पनि संशोधन गरेर गुल्मी यातायात व्यवसायी संघ बनेको थियो।

प्रालिका कार्यालय प्रमुख डोलबहादुर थापाका अनुसार गुल्मी जिल्लाको १२ वटा स्थायीय तह तथा ९३ वटा वडाहरूमा मात्र नभई छिमेकी जिल्ला बागलुङ, प्युठान, रुकुम, स्याङ्जा, पाल्पा, अर्घाखाँची, रुपन्देहीलगायतका जिल्लामा पनि सेवा प्रालिले सेवा विस्तार गरेको छ भने हाल करिब तीन सयभन्दा बढी यातायातका साधन सञ्चालनमा रहेका छन्।

आगामी दिनमा प्रालिले सेवालाई थप सुरक्षित र गुणस्तरीय बनाउँदै लैजाने प्रालिका अध्यक्ष रूपकलाल श्रेष्ठले बताए। उनले कोभिडले थला परिरहेका यातायात व्यवसायीलाई सरकार र बैंकहरूले सहजीकरण नगरेकाले आफूहरूले नयाँ सेवा विस्तार गर्न नसकेको बताए।

गुल्मी जिल्लाकै चन्द्रकोट गाउँपालिकामा दर्ता सञ्चालनमा आएको चन्द्रकोट यातायात प्रा.लि. र गुल्मी यातायात प्रा. लि. मर्ज भएका छन्।

दुवै प्रालिले आपसी सहमति–सम्झौताअनुसार कार्यसञ्चालन  एकीकरण गरी सबै चन्द्रकोट यातायात प्रा.लि.को चलअचल सम्पत्ति गुल्मी यातायात प्रा.लि. मा समाहित हुने निर्णय गरेर गुल्मी यातायात प्रा.लि. अन्तर्गत सञ्चालन भइरहेको गुल्मी यातायात प्रालिका सञ्चालक उत्तम कुँवरले जानकारी दिए।

साधारणसभा तथा अधिवेशनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायत थुप्रै केन्द्रीय प्रतिनिधि जिल्ला आएको कुँवरले बताए।

तम्घासस्थित प्रधान कार्यालयको भवन निर्माण गरेर ०७५  वैशाखबाट कार्यालयको कामकारबाही भइरहेको छ।

यस प्रा.लि. मार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत सत्यवतीका पहिरोपीडितलाई ५१ हजार र पहिरोमा पसेको लु.१ज ४०७७ जिप राहतस्वरूप. ५० हजार प्रदान गरिएको प्रालिका सञ्चालक ज्ञानहरि सापकोटाले बताए।

प्रालिमा आबद्ध सवारी धनी–कर्मचारीको पाँच लाखबराबरको दुर्घटना बिमा र चालक, सहचालकको दुई लाख रुपैयाँ मात्रको प्रिमियम भुक्तानी गरिएको छ।

साथै कोभिडको समयमा पनि प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले सबै (व्यवसायी) सवारीधनी, कर्मचारी, चालक, सहचालकको कोभिड बिमा गरिएको सापकोटाले बताए।

  • Top Lal Aryal @ GULMI

Leave a Reply

Your email address will not be published. Required fields are marked *