ड्राइभिङ्ग लाइसेन्सको वितरण प्रणाली नै गलत छ

– राजेन्द्र प्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरिक्षक 

नेपालमा ड्राइभिङ्ग लाइसेन्सको वितरण प्रणाली गलत भएको कारणले सडक दुर्घटना बढी हुने गरेको उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभएको छ ।

ड्राइभिङ्ग सिकाउने सेन्टरदेखी लिएर ड्राइभिङ्ग लाइसेन्स वितरण गर्ने निकायसम्म सवारीसाधनको लाइसेन्स वितरण प्रणाली सुधार्नुपर्ने उहाँको तर्क छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखा, टेकुको आयोजनामा हालै काठमाण्डौंमा कम लागतमा सडक सुरक्षा सम्बन्धी गोष्ठिमा बोल्दै प्रहरी वरिष्ठ उपरिक्षक भट्टले ड्राइभिङ्ग लाइसेन्स लिन चाहनेले पनि सवारीसाधन चलाउन सिक्नुभन्दा कसरी लाइसेन्स मात्र हातमा पार्ने भन्ने सोच्नु सडक दुर्घटनाको कारण भएको बताउनुभयो ।

अहिले नेपालमा सडक दुर्घटनाहरु दिनानुदिन बढीरहेको परिपेक्षमा सडक सुरक्षा सम्वन्धी जनचेतनामुलक प्रशिक्षणहरु तथा क्रियाकलापहरु स्कुल तथा क्याम्पस लेवलमा पनि गर्नुपर्ने उहाँको धारणा छ ।

हरेक स्थानका स्थानीय वासिन्दाहरुमा जनचेतना जगाई उनिहरुलाई पनि सडक सुरक्षा सम्वन्धी गतिविधिमा सहभागि गराउनुपर्ने भन्दै प्रमुख भट्टले यसका लागि स्थानीय निकायहरुले समन्वयकारी भुमिका निभाउनु पर्ने बताउनुभयो ।

सडक सुरक्षाका लागि सडकमा ड्युटी गर्ने ट्राफिक प्रहरीहरुलाई कडाइका साथ काम गर्न विविध खालको दवावले प्रभाव पार्ने गरेको हुँदा यस तर्फ पनि सम्वन्धीत व्यक्ति तथा निकायले ध्यान दिनुपर्ने प्रमुख भट्टले बताउनुभयो ।

गोष्ठिमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, उपत्यका ट्राफिक प्रमुख, वरिष्ठ चिकित्सक, विज्ञ तथा सँचारकर्मिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *