चालु आर्थिक वर्षको चार महिनामा १ हजार १८ युनिट विद्युतीय कार, जीप र भ्यानहरु आयात भएका छन्।
भन्सार विभागको तथ्यांक अनुसार यो चार महिनामा विद्युतीय कार, जीप र भ्यान गरी कुल २ अर्ब ८६ करोड बराबरको १ हजार १८ वटा आयात भएका छन्। सरकारले विद्युतीय गाडीबाट ८५ करोड ६२ लाख रुपैयाँ भन्सार शुल्क उठाएको छ।
यो संख्या गत वर्षभरी आयात भएको विद्युतीय गाडीको संख्याको आधाभन्दा धेरै हो। गत वर्षभरी विद्युतीय कार, जीप र भ्यान गरी कुल ५ अर्ब ३२ करोड बराबरको १८०७ युनिट आयात भएका थिए। सरकारले यसबाट कुल १ अर्ब ४३ करोड रुपैयाँ भन्सार शुल्क उठाएको थियो।
गत वर्षको साउनदेखि कात्तिकसम्ममा विद्युतीय कार, जीप र भ्यान गरी कुल ६७३ युनिट मात्र आयात भएको थियो। तर यो वर्षको सोही समयावधिमा भने १ हजार १८ युनिट विद्युतीय गाडी आयात भइसकेका छन्। गत वर्षको सोही अवधिको तुलनामा ३४५ युनिटले आयातमा वृद्धि हो।
कात्तिक महिनामा मात्र ३१३ युनिट आयात भएका छन्। अहिले पेट्रोलियम गाडी आयातमा प्रतिवन्ध छ। त्यही भएर विभिन्न गाडी बिक्रेता कम्पनीले विद्युतीय गाडी आयातमा केन्द्रित गरेका छन्।
यो वर्ष साउनदेखि कात्तिकसम्म भारतबाट मात्रै ६८९ वटा विद्युतीय गाडी आयात भएका छन्। भारतबाट टाटाको विद्युतीय सवारी आयात हुने गरेको छ। यसैगरी कोरियाबाट १५५ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। नेपालमा कोरियाबाट हुन्डाई र कियाका गाडीहरु आयात हुने गरेका छन्।