काठमाडौं / रोकिएको सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन ११ मंसिरदेखि सुचारु हुने भएको छ ।
यातायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि भन्दै मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो । स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ देखि सुरु हुने विभागले जनाएको छ ।
फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न विभागको निर्देशन
सबै सरकारी सवारीसाधनमा आगामी फागुन मसान्तसम्म इम्बोस्ड नम्बर अनिवार्य रुपमा जोड्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सम्पूर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गनुपर्ने बताएको हो । इम्बोस्ड नम्बर प्लेटका लागि विभागको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ । सोपश्चात् नजिकको यातायात कार्यालयमा गई राजस्वर तिरेर इम्बोस्ड नम्बर जडान गर्न सकिने विभागको भनाइ छ । काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालय मीनभवनमा राजस्व तिरी जडान गर्न सकिने बताइएको छ ।
उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारीसाधनको चोरीनिकासी, राजस्व छली र आपराधिक क्रियाकलाप नियन्त्रण हुने विभागको विश्वास छ ।