नेपालका पूर्वाधारमा गुणस्तरको अवस्था

नेपालका आयोजना कत्तिको गुणस्तरीय बन्छन् भन्ने विषयलाई बहुपक्षीय रूपमा हेर्नुपर्छ । आमसर्वसाधारणले हेर्दा नेपालका सडक, पुललगायतका पूर्वाधार गुणस्तरीय नभएको देखिन्छ । तर, त्यो सत्य होइन । अन्तर्राष्ट्रिय स्तरअनुसार नेपालका पूर्वाधार ७० प्रतिशतको अनुपातमा गुणस्तरीय छन् ।

पुल तथा सडकको हकमा पूर्ण रूपमा सेट नहुँदै सञ्चालन तथा क्षमताभन्दा बढी मात्रामा समेत सञ्चालन गर्ने भएकाले समस्या देखिएको हो । ६० टन क्षमता भएको पुलमा एक सय टनको ट्रक चलाउन हुँदैन । तर, यस विषयमा केही सीमित निर्माण कम्पनीको त्रुटि छ । डिजाइनमा पनि समस्या छ । इन्जिनियरहरूले भूगोल, जमिनको आधारमा आवश्यकताअनुसार डिजाइन बनाएका छैनन् । डिजाइनरले धान्नै नसक्ने पुलसमेत स्वीकृत गरेका छन् । केही निर्माण कम्पनी र डिजाइनरले आफ्नो व्यावसायिक धर्म निर्वाह गरेका छैनन् । यी यस्ता कारण निर्माणको गुणस्तरमा समस्या देखिएको हो ।

निर्माण कम्पनीले सरकारले दिएको सर्तअनुसार काम गर्ने हो । आयोजनाको गुणस्तर कस्तो बनाउने भन्ने विषय बजेटमा पनि निर्भर हुन्छ । सरकारले थोरै रकम छुट्याएको हुन्छ र आयोजनाको गुणस्तरबारे पनि सोहीअनुसार सर्त तोकिएको हुन्छ । र, हामी निर्माण व्यवसायीले पनि सोहीअनुसार नै काम गर्ने हो, गरेका छौँ ।

यसमा समग्र निर्माण क्षेत्रको कुनै कमीकमजोरी छैन । तर, केही निर्माण कम्पनी र डिजाइनरको कमीकमजोरी भने पक्कै छ । यस्तै, नेपाल भौगोलिक तथा वातावरणीय विविधता भएको देश हो । तराईमा गर्मी छ भने हिमालमा जाडो छ । तराईको भूभाग र पहाड तथा हिमालको भूभागमा विविधता छ । यस्तो अवस्थामा सडक, पुल तथा भवनको एउटै डिजाइन बनाएर हुँदैन । तर, नेपालमा त्यस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *