भण्डारणगृह र पाइपलाइनबारे कुन बजेटमा के छ ?

– आव ०७३/७४ मा

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर २०० मा भनिएको छ– पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि न्यूनतम ९० दिनको माग धान्न सक्ने गरी नेपाल आयल निगमको भण्डारण वृद्धि गर्न काभ्रेपलाञ्चोकको पाँचखाल, तनहुँको खैरेनीटार र नुवाकोटको बटारमा आगामी आर्थिक वर्षभित्र जग्गा प्राप्ति, विस्तृत परियोजना प्रस्ताव र स्रोत व्यवस्थापन कार्य सम्पन्न गरी निर्माण कार्य प्रारम्भ गरिनेछ । काभ्रेमा १० हजार मेट्रिकटन एलपी ग्यासको भण्डारण संरचना निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।

– आव ०७४/७५ मा
अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर ९७ मा भनिएको छ– पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता ल्याउन रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण कार्यलाई निरन्तरता दिइनेछ । पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउन सातवटै प्रदेशमा कम्तीमा ९० दिन र एलपी ग्यासको कम्तीमा ४५ दिन माग धान्न सक्ने भणडारणगृह निर्माण कार्य सुरु गरिनेछ ।

– आव ०७५/७६ मा
अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर ११२ मा भनिएको छ– पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाई तीन महिनाको माग धान्न सक्ने बनाइनेछ । नेपाल आयल निगमको आपूर्ति, लागत संरचना र मूल्य निर्धारण प्रणाली अवलोकन गरिनेछ ।

– आव ०७७/७८ मा
अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर १४६ मा भनिएको छ– नेपाल आयल निगममार्फत पेट्रोलियम पाइपलाइन विस्तार, पेट्रोलियम भण्डारण तथा ग्यास बोटलिङ प्लान्ट स्थापना गरिनेछ ।

– आव ०७८/७९ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर २१० मा भनिएको छ– न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिनेछ । पानीट्यांकीदेखि काँकडभिट्टा हुँदै चारआलीसम्म र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य प्रारम्भ गरी तीन वर्षभित्र सञ्चालनमा ल्याइनेछ ।

– आव ०७९/८० मा
अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर ८२ मा भनिएको छ– भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार कार्य प्रारम्भ गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *