चार वर्षदेखि अलपत्र काठमाडौं चक्रपथ विस्तारको दोस्रो खण्डको निर्माण अझै एक वर्ष पर धकेलिने भएको छ । चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ कम्पनीले सन् २०२४ जनवरीबाट मात्रै दोस्रो खण्ड विस्तारको काम सुरु गर्ने जानकारी दिएको छ । चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका एकजना विशेष प्रतिनिधि अनौपचारिक रूपमा चक्रपथ विस्तार आयोजनाको अध्ययन गर्न गत साता नेपाल आएका थिए । सोही प्रतिनिधिले आयोजना प्रमुख मेघराज मरासनीसँगको भेटवार्तामा यस्तो बताएको आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए । उनका अनुसार आयोजनाको डिजाइन बनाउन पनि अझै एक वर्ष समय लाग्नेछ ।
‘चीनबाट आउनुभएका प्रतिनिधिसँग अघिल्लो शुक्रबार अनौपचारिक भेटवार्ता भएको थियो । त्यस क्रममा उहाँले जनवरी २०२४ देखि मात्रै काम सुरु गर्न सकिने बताउनुभएको छ । साथै, डिजाइन बनाउन पनि अझै एक वर्ष लाग्ने बताउनुभएको छ,’ उनले भने, ‘सम्भवतः अब एक वर्षमा डिजाइन बनाउनेलगायतका प्रक्रिया पूरा गरेर आयोजना निर्माणको काम सुरु गर्ने चीनको योजना होला ।’ दोस्रो खण्डको डिजाइन कुन मोडलमा बनाउने भन्ने विषयमा चीन र नेपालबीच थप सम्झौता गर्ने तयारी रहेको उनको भनाइ छ ।