मंसिर ४ गतेको प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै काठमाडौंबाट बाहिरिने सर्वसाधारणको संख्या बढेको छ।
निर्वाचनलाई दृष्टिगत गरेर सर्वसाधारणहरू काठमाडौंबाट बाहिरिन थालेसँगै सार्वजनिक यातायातमा यात्रुको चापसमेत बढेको छ।
जिल्लामा जाने अधिकांश बस रिजर्व भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
मंसिर ४ गतेको निर्वाचनअघिसम्म करिब ५ लाख यात्रु बाहिरिने महासंघको अनुमान छ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बुधबारदेखि नियमितभन्दा ४० प्रतिशत यात्रुको संख्या वृद्धि भएको छ।
नयाँ बसपार्कबाट छुट्ने रूटका झन्डै एक हजार बस रिजर्व भइसकेका छन् । तर, सार्वजनिक यातायातको टिकट अभाव नहुने र सहज यात्राका लागि बसको व्यवस्थापन गरिएको महासंघले जनाएको छ।
एउटा जिल्लाका लागि १० देखि १५ वटा बस रिजर्व भएका छन्। पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्व भएका हुन्। यस्तै आफैं टिकट काटेर जानेको संख्या पनि बढेका छन्।
अन्तरप्रदेसमा सञ्चालित बसमा पनि यात्रुको चाप बढेको छ। विभिन्न पार्टीका सक्रिय कार्यकर्ताहरू जिल्ला पुगिसकेका छन्। अब जाने यात्रुहरू मतदाताहरू मात्रै हुन्।
मंसिर २ गतेसम्म लामो दूरीका यात्रुले टिकट लिएका छन् भने मंसिर ३ गते काठमाडौं आसपासका यात्रु बढी संख्यामा जाने महासंघको अनुमान छ। निजी सवारीसाधनले पनि यात्रु ओसारेका छन्।
निर्वाचन आयोगका अनुसार मंसिर ३ गते दिउँसोसम्म सार्वजनिक यातायात सञ्चालन हुनेछन्। ३ गते राति र ४ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकबाहेकका सार्वजनिक यातायात सञ्चालन हुने छैनन्।