एक हजार सार्वजनिक बस रिजर्व

मंसिर ४ गतेको प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै काठमाडौंबाट बाहिरिने सर्वसाधारणको संख्या बढेको छ । निर्वाचनलाई दृष्टिगत गरेर सर्वसाधारणहरू काठमाडौंबाट बाहिरिन थालेसँगै सार्वजनिक यातायातमा यात्रुको चापसमेत बढेको छ, जिल्लामा जाने अधिकांश बस रिजर्व भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

मंसिर ४ गतेको निर्वाचन अघिसम्म करिब ५ लाख यात्रु बाहिरिने महासंघको अनुमान छ ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बुधबारदेखि नियमितभन्दा ४० प्रतिशत यात्रुको संख्या वृद्धि भएको छ ।

नयाँ बसपार्कबाट छुट्ने रूटका झन्डै एक हजार बस रिजर्व भइसकेका छन् । तर, सार्वजनिक यातायातको टिकट अभाव नहुने र सहज यात्राका लागि बसको व्यवस्थापन गरिएको महासंघले जनाएको छ ।

एउटा जिल्लाका लागि १० देखि १५ वटा बस रिजर्व भएका छन् । पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्व भएका हुन् । यस्तै आफैं टिकट काटेर जानेको संख्या पनि बढेका छन् ।

अन्तरप्रदेसमा सञ्चालित बसमा पनि यात्रुको चाप बढेको छ । विभिन्न पार्टीका सक्रिय कार्यकर्ताहरू जिल्ला पुगिसकेका छन् । अब जाने यात्रुहरू मतदाताहरू मात्रै हुन्।

मंसिर २ गतेसम्म लामो दूरीका यात्रुले टिकट लिएका छन् भने मंसिर ३ गते काठमाडौं आसपासका यात्रु बढी संख्यामा जाने महासंघको अनुमान छ। निजी सवारीसाधनले पनि यात्रु ओसारेका छन्।

निर्वाचन आयोगका अनुसार मंसिर ३ गते दिउँसोसम्म सार्वजनिक यातायात सञ्चालन हुनेछन्। ३ गते राति र ४ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकबाहेकका सार्वजनिक यातायात सञ्चालन हुने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *