काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्न यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । साथै, अन्तिम सम्भाव्यता अध्ययन गर्न गत आइतबार अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वानसमेत गरिसकेको बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै सम्भाव्यता अध्ययन गर्ने इच्छुक संस्थाहरूलाई २६ मंसिरसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उक्त आयोजना बनाउन १५ करोड ३० लाख डलर (वर्तमान डलरको मूल्य १३०.६० रुपैयाँका आधारमा १९ अर्ब ९८ करोड नेपाली रुपैयाँ) लगानी लाग्ने अनुमान गरिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न भएपछि निजी–सार्वजनिक साझेदारी (पिपिपी) मोडलमा उक्त आयोजनाको निर्माण अघि बढाउने बोर्डको तयारी छ । आर्थिक वर्ष ०७१/७२ को बजेटमै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रुहरू अट्ने बस र्यापिड ट्रान्जिट (बिआरटी) योजनाको घोषणा गरिएको थियो । त्यसपछि ०७५ मा लगानी बोर्डले यो योजना अगाडि पनि बढायो । २०१९ मा सम्पन्न लगानी सम्मेलनमा यो आयोजना निर्माण र सञ्चालन गर्न चार लगानी प्रस्तावसमेत आएका थिए ।