दैनिक दुई लाख ४० हजार यात्रुले सेवा लिन सक्ने

लगानी बोर्डले अगाडि बढाएको आयोजना काठमाडौंको चक्रपथमा बन्नेछ, जसमा विद्युतीय बस, आधुनिक बस स्टप तथा टर्मिनल हुनेछन् । साथै, त्यसमा चढ्ने यात्रुहरूका लागि स्मार्ट टिकेटिङको सुविधासमेत हुनेछ । यसका अलावा ट्र्याक्ड, सेड्युल तथा कनेक्टरको सुविधासमेत हुनेछ ।

यो आयोजना बनेमा सार्वजनिक यातायात सेवामा सुधार आउने, यातायात समय छोटो हुने बोर्डको अपेक्षा छ । हाल चक्रपथमा रहेको सडकमै छुट्टै डेडिकेटेड लेन बनाउने बोर्डको प्रस्ताव छ, जुन लेनमा अन्य सवारीसाधन गुड्न नपाउने प्रस्ताव गरिएको छ । यसका साथै छुट्टै विद्युतीय बस, पाँच मिटर चौडा स्टेसन, जिपिएस सिस्टम, इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम, फ्लेभर रोड तथा पुल, स्मार्ट कार्ड तथा क्वाइन बेसमा आधारित भाडादर प्रणालीलगायतका सुविधा तथा संरचना बनाउने प्रस्ताव गरिएको छ ।

बोर्डका एक उच्च अधिकारीका अनुसार उक्त आयोजनामा एक सय ६० वटा बस सञ्चालन गर्न सकिनेछ । तर, आवश्यकताका आधारमा पहिलो चरणमा लामो आकारका ७५ वटा बिजुली बस सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । उक्त आयोजनामा २७ बस स्टेसन र एक टर्मिनल बनाउने योजना छ । यद्यपि, यसबारे विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि अन्तिम टुंगो लाग्नेछ ।

बोर्डले गरेको पूर्वसम्भाव्यताअनुसार यसमा दैनिक बढीमा दुई लाख ४० हजार यात्रुले सेवा लिन सक्नेछन् । न्यूनतम भने एक लाख ५४ हजार यात्रु पाइने बोर्डको भनाइ छ । यो २०१९ मा गरिएको अध्ययनमा आधारित हो । २०२९ सम्म भने दैनिक अधिकतम तीन लाख आठ हजार र न्यूनतम एक लाख ७० हजार यात्रु हुने बोर्डको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *