नेपालमै हिरो र होन्डा मोटरसाइकल बन्ने

नेपालमा मोटरसाइकल तथा स्कुटर एसेम्बल उद्योग खोल्ने लहर नै चलेको छ । पछिल्लो समय सरकारले आयातित मोटरसाइकलमा कर बढाएपछि दबाबमा परेका हिरो र होन्डाले समेत नेपालमै मोटरसाइकल एसेम्बल गर्न उद्योग दर्ता गरेका छन् ।
नेपालमा सबैभन्दा धेरै मोटरसाइकल बिक्री हुने ब्रान्ड होन्डा हो भने हिरो पनि आफ्नो सेगमेन्टको अब्बल मोटरसाइकल बिक्रेता ब्रान्ड हो।

विगतमा एकै ब्रान्ड हिरोहोन्डामा मोटरसाइकल उत्पादन तथा बिक्री हुँदै आएकोमा सन् २०१४ बाट जापानी ब्रान्ड होन्डा र भारतीय ब्रान्ड हिरोले अलग अलग रुपमा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएका छन्।

विगतमा ज्योति समूह अन्तर्गतकै स्याकार ट्रेडिङले आधिकारिक बिक्रेताको रुपमा हिरोहोन्डाका मोटरसाइकल बिक्री गर्दै आएको थियो। तर हिरो र होन्डा औपचारिक रुपमा विभाजन भएपछि नेपालमा समेत अंशबण्डा गरिसकेका ज्योति समूहका पद्म ज्योति र रुप ज्योतिबीच होन्डा र हिरो भाग लागेको थियो । हाल पद्म ज्योति र रुप ज्योतिबीच राम्रो सम्बन्ध छैन। दुई भाइबीच मुद्दामामिलाकै अवस्था देखिँदै आएको छ।

होन्डा ब्रान्ड पद्मका छोरा सौरभले र हिरो ब्रान्ड रुपका छोरा अभिक ज्योतिले हेर्दै आएका छन्।

धेरै कुरामा प्रतिस्पर्धा रहेको उनीहरूबीच पछिल्लो समय नेपालमै मोटरसाइकल एसेम्बल गर्ने विषय पनि प्रतिस्पर्धाकै रुपमा देखिएको छ।

हिरो र होन्डाले नेपालमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न सँगसँगै प्रक्रिया अघि बढाएका छन्। हिरोले उद्योग दर्ता गरेको एकसाता नबित्दै होन्डाले पनि एसेम्बल उद्योग दर्ता गरेको हो।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता रहेको एनजीएम प्रालिले मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एनजीएम इन्जिनियरिङ एन्ड सेल्स प्रालि नामक उद्योगमा दर्ता गरेको हो।

त्यस्तै होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होन्डाको मोटरसाइकल नेपालमै एसेम्बल गर्न हिमाल मोटो प्रालि कम्पनी उद्योगमा दर्ता गरेको हो।

एनजीएम इन्जिनियरिङ एन्ड सेल्स प्रालि

एनजीएमले हिरोका मोटरसाइकल तथा स्कुटर उत्पादनका लागि पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा उद्योग स्थापना गर्ने भएको छ। उद्योगमा ३३ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। उद्योगबाट वार्षिक ४५ हजार मोटरसाइकल एसेम्बल गर्ने उल्लेख छ। जहाँ १ सय ३० जनाले रोजगारी पाउने छन् भने शतप्रतिशत स्वदेशी लगानी हुनेछ।

हिमाल मोटो नेपाल प्रालि

होन्डाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्ने गरि स्याकार ट्रेडिङले हिमाल मोटो नेपाल प्रालि उद्योग रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना गर्नेछ। हिमाल मोटोमा स्याकारले ६० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ ।
हिमाल मोटोले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने उल्लेख गरेको छ। २ सय २ जनाले रोजगारी पाउने उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *