नेपालमा पेट्रोल र डिजेलको मूल्य अत्यधिक बढेपछि विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको छ । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महीनामा दुई अर्ब ७० करोड ८७ लाखबराबरको विद्युतीय सवारीसाधन भित्रिएको भन्सार विभागको तथ्यांक छ । उक्त अवधिमा गाडी, मोटरबाइक, स्कुटर, अटोरिक्सालगायतका सात हजार सात सय ६८ वटा विद्युतीय सवारीसाधान आयात भएका छन्, जुन अघिल्लो आव ०७८/७९ को पहिलो त्रैमासको तुलनाका आधारमा २७० प्रतिशत र रकमका आधारमा ८१ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा एक अर्ब ४९ करोड ९९ लाख रुपैयाँबराबरका दुई हजार एक सयवटा विद्युतीय सवारीसाधन आयात भएका थिए ।
तथ्यांकअनुसार तीन महिनामा ६ करोड ९३ लाख रुपैयाँबराबरका २७ वटा विद्युतीय माइक्रो बस आयात भएका छन् । यस्तै, ३६ करोड ९० लाख रुपैयाँबराबरका चार हजार तीन सय ७० वटा विद्युतीय साइकल, मोटरबाइक र स्कुटर आयात भएका छन् । समीक्षा अवधिमा आयात हुने विद्युतीय कार तथा भ्यानको संख्या भने सात सय पाँच रहेको छ । रकमका आधारमा दुई अर्ब ५० लाख रुपैयाँबराबरका विद्युतीय कार तथा भ्यान आयात भएका छन् ।
यस्तै, समीक्षा अवधिमा २४ करोड ५१ लाख रुपैयाँबराबरका दुई हजार चार सय ९२ वटा तीनपांग्रे (अटोरिक्सालगायत) गाडी आयात भएका छन् । साथै, एक करोड ७९ लाख रुपैयाँबराबरका एक सय ७३ वटा एसेम्बल हुन बाँकी तीनपांग्रे गाडी आयात भएका छन् । यस्तै, २१ लाखबराबरको एउटा चारपांग्रे भेहिकल पनि आयात भएको तथ्यांकमा उल्लेख छ ।