विशेष गरी पेट्रोल र डिजेलको मूल्य बढ्दा विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढेको अटो मोबाइल्स व्यवसायीहरू बताउँछन् । आव ०७७/७८ को पहिलो त्रैमासमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ थियो । यस्तै, गत आव ०७८/७९ मा पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजेलको मूल्य प्रतिलिटर एक सय १३ पुगेको थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भने अझै बढेर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ र डिजेलको एक सय ९२ रुपैयाँसम्म पुगेको थियो । हाल पेट्रोल प्रतिलिटर एक सय ८१ रुपैयाँ र डिजेल प्रतिलिटर एक सय ७८ मा बिक्री भइरहेको आयल निगमको तथ्यांकमा देखिन्छ । यसरी पेट्रोलियम पदार्थको मूल्य उच्च मात्रामा बढ्दा सवारीसाधनको सञ्चालन खर्च पनि बढेको छ । त्यसपछि सर्वसाधारण विद्युतीय सवारीसाधनतर्फ आकर्षण हुन थालेका हुन् ।