विद्युतीय स्कुटर वा बाईक कसरी छान्ने ?

आजभोली दिनानुदिन पेट्रोलको भाउ आकाशिएसँगै विद्युतीय सवारीसाधन प्रति जनचासो बढेको छ । वातावरणीय हिसाबले उत्तम भैकन पनि आफ्नै देशको उत्पादन विद्युतबाट चल्ने भएर पनि आम नेपालीमाझ यसको चासो बढेको मान्न सकिन्छ ।
विश्वव्यापी रुपमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन अधिकाँश मुलुकहरुले करमा छुट दिने, विभिन्न खर्चमा सहुलियत दिने लगायतका कार्यक्रमहरु अगाडि सारेका छन् । नेपाल सरकारले पनि विद्युतीय सवारीसाधनमा भन्सार विन्दुबाटै विभिन्न कर तथा अन्तः शुल्कमा सहुलियत सँगै सँचालन वापत लिईने बार्षिक करमा समेत कम्बस्टन ईन्जिनयुक्त सवारीसाधनको तुलनामा कम कर लिने गरेको छ ।
पहिले पहिले चीनमा बनेका तर कमसल खालका विद्युतीय स्कुटर ल्याएर नेपालमा बेच्ने गरिन्थ्यो । त्यसको असर अझै पनि कतिपय प्रयोगकर्तामा विद्युतीय स्कुटर प्रति सकारात्मक विचार आउन सकेको छैन । तर वातावरण र मुलुकको अर्थतन्त्रको हिसाबले उत्तम भएको कुरा बुझेका प्रयोगकर्ताहरु भने यस प्रति निक्कै आकर्षित देखिन्छन् ।
तर पनि हरेक ठाउँमा चार्जिङ्ग स्टेशन नहुनु, विद्युतीय साधनको गुणस्तरको ज्ञान नहुनु, पुनः बिक्रिको अवस्था अन्यौल हुनु, बिक्रेताको डिलर नेटवर्क कमजोर हुनु, बिक्रेताको व्यापारिक इतिहास कमजोर हुनु जस्ता विभिन्न कारणहरुले गर्दा आशातित प्रयोग भने बढ्न सकेको देखिदैंन ।
यिनै कुराहरुलाई मध्यनजर राख्दै आज हामी विद्युतीय सवारीसाधन छनौट गर्दा ध्यान दिनुपर्ने केहि टिप्सका बारेमा चर्चा गर्नेछौं ।

डिजाईन
सबैभन्दा पहिले हेर्ने भनेको त डिजाईन नै हो । आफुलाई मन परेको डिजाइन भए मात्र ग्राहकले साधन किन्ने गर्दछन् । अहिले चलेको ट्रेन्ड अनुसारको डिजाईन होस वा क्लासिकल डिजाईन होस्, आफुलाई मन पर्ने डिजाइन छान्न पाउनु ग्राहकको नैसर्गिक अधिकार नै हो । आजभोली सामाजिक सँजालको व्यापक प्रयोगका कारण पनि तपाई आफ्नै मोवाईलबाटै विभिन्न डिजाईन, मोडेल तथा तिनका शोरुम लोकेशन सजिलै पत्ता लगाउन सक्नुहुन्छ ।

फिचर्स
विद्युतीय सवारीसाधनमा हेर्नुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको उक्त साधनको फिचर्स नै हो । अगाडि डिजिटल इन्स्टुमेन्ट प्यानल भएको, त्यसमा विभिन्न इन्डिकेटर देखाउने खालको आधुनिक प्रविधि प्रयोग भएको मोडेल छान्नुहोला । साईड स्टेन्ड इन्डिकेटर र सेन्सर, प्रोब्लम इन्डिकेटर, ब्लुटुथ कनेक्टिभिटी, मोवार्ईल चार्जिङ्ग पोर्ट, प्रोजेक्टर हेडलाईट, एलईडि इन्डिकेटर बल्ब, डिस्क ब्रेक लगायतका विभिन्न अत्याधुनिक फिचर्स भएको मोडेल छान्नुहोला ।

रेन्ज
अर्को महत्वपुर्ण कुरा भनेको उक्त साधनले एकपटकको चार्जमा दिने रेन्ज हो । आफुले दैनिक कति दुरी सवारीसाधन प्रयोग गरिन्छ भन्ने आधारमा रेन्ज छनौट गर्न सक्नुहुन्छ । तपाईलाई दैनिक २०÷३० किलोमिटरको मात्र चलाउने आवश्यकता हो भने धेरै रेन्ज दिने साधन लिनु खासै जरुरी होईन । किनकि जति बढी रेन्ज दिने साधन हुन्छ उसको बेट्री र मोटरको क्षमता पनि बढी हुने हँुदा मुल्य अत्याधिक हुन पुग्छ । तर तपाईलाई दैनिक साधन चलाउने दुरी बढी नै छ भने सोहि अनुसारको रेन्ज भएको मोडेल छान्नुहोला । रेन्जको मापन उक्त साधनमा प्रयोग भएको बेट्री र मोटरमा भर पर्दछ ।

बेट्री र मोटर
अर्को महत्वपुर्ण कुरा भनेको त्यसमा प्रयोग भएको बेट्री र मोटरको क्षमता पनि हो । मोटरको क्षमताले उक्त साधनको भार तान्न सक्ने क्षमता ईन्कित गर्छ भने बेट्रीको क्षमताले उक्त साधनले दिने रेन्ज ईन्कित गर्दछ । सामान्यतयाः २ किलोवाट क्षमताको रेटेड पावर भएको मोटर तथा कमसेकम २.५ किलोवाट आवरको बेट्रीप्याक भएको विद्युतीय स्कुटर रोज्नुभएमा अन्य पेट्रोलियम स्कुटरको दाँजो बरावर क्षमताको हुन जान्छ । अहिले प्रतिष्पधात्मक रुपमा नेपाली बजारमा आएका विद्युतीय स्कुटरहरुमा प्रायः ३ किलोवाट क्षमताको मोटर तथा ४ किलोवाट आवर क्षमताको बेट्रीप्याक भएका स्कुटरहरु पाईन्छन् ।

चार्जिङ्ग समय
सकेसम्म कम समयमा चार्जिङ्ग फुल हुने प्रविधियुक्त मोडेल छान्नुहोला । हुन त प्रायः स्कुटरमा फास्ट चार्जिङ्ग सिस्टम भएका मोडेलहरु त्यति आइसकेका छैनन्, भविष्यमा आउने सम्भावना भने छ । तैपनि सकेसम्म कम समयमा फुल चार्ज हुने खालको मोडेल छान्नुहोला ।

स्पिड
प्रति घण्टा २५ किलोमिटर भन्दा कम स्पिड क्षमता भएको विद्युतीय स्कुटरलार्ई लाईसेन्स नचाहिने भन्ने प्रावधान त छ । तर तपाईको आवश्यकता त्यो भन्दा धेरै हो भने सोहि अनुसारको स्पिड क्षमताको मोडेल छान्नुहोला । आजभोली सामान्य रुपमा पनि करिब १ सय भन्दा बढी स्पिड भएका विद्युतीय बाईक पनि बजारमा आईसकेका छन् ।

बिल्ड क्वालिटी (गुणस्तर)
विगतमा विद्युतीय स्कुटरलाई बजारमा बदनाम गर्नमा बिल्ड क्वालिटी कमजोर भएका मोडेल ल्याएर बेचेकोले पनि हो । व्यवसायीले बढी नाफा गर्ने उद्देश्यले त्यस्ता कमसल गुणस्तरका मोडेल पनि बेच्न सक्छन् । त्यसैले विद्युतीय साधन छान्दा त्यसको बडी प्यानेल, इन्डिकेटर, साकर सस्पेन्सन इत्यादि कम्पोनेन्ट राम्रोसँग चेक गर्नुहोला ।

वारेन्टी
कुनै पनि सवारीसाधन खरिद गर्दा सकेसम्म वारेन्टी नभएका साधन खरिद नै गर्नु हुँदैन । त्यसै त नयाँ प्रविधियुक्त साधन, त्यसमा पनि वारेन्टी भएन भने खरिद गर्नु उचित हुँदैन । वारेन्टी पनि उक्त साधनको कुन कुन कम्पोनेन्टमा कति समयको लागि हो भन्ने बुझ्नुहोला । जस्तै बेट्री, मोटर, कन्टोलर, टायर, सकर वा अन्य कम्पोनेन्टमा कति कति समयको वारेन्टी छ र त्यसको प्रकृया के कस्तो छ भन्ने कुरा राम्रोसँग बुझ्नुहोला ।

पार्ट्सको उपलब्धता
बजारका अन्य वस्तु र सवारीसाधनको फरक भनेकै after sales को कुरा हो । खरिद गरिसकेपछि प्रयोग गर्दै जाँदा बिग्रन जाने साधन भएकाले यसको पार्ट्सको उपलब्धता अनिवार्य हुनुपर्दछ । यसको बारेमा राम्रोसँग बुझ्नुहोला र बिक्रेतासँग प्रष्ट कुरा पनि गर्नुहोला ।

शोरुम तथा वर्कशपको डिलर नेटवर्क
काठमाण्डौंमा एउटा साँगुरो गल्लीमा सानो सानो स्पेस लिएर बाईक वा स्कुटी बेच्न बसेको छ भने त्यो व्यापारीको व्यापार दीर्घकालिन नहुन पनि सक्छ । केहि समय हेरौं, व्यापार भएन भने बन्द गरिदिउँला भनेर पनि त्यसरी बसेको हुन सक्छ भन्ने कुरामा सचेत हुनुहोला । उक्त कम्पनीको शोरुम, उसले अन्य ठाउँमा दिएको डिलरहरुको शोरुम तथा सर्भिस सेन्टरहरुको नेटवर्क कति ठुलो छ वा छैन भन्ने कुराको पनि जानकारी राख्नुहोला । किनकि जति ठुलो डिलर वा सर्भिस नेटवर्क हुन्छ, त्यो कम्पनीको भविष्य लामो नै हुनेछ जसलाई हामी सजिलै विश्वास गर्न सक्छौं ।

कम्पनी प्रोफाईल
सवारीसाधनको व्यवसाय प्रतिष्ठासँग पनि जोडिने व्यवसाय भएकाले कतिपय अनुभव नभएका तर लगानी मात्र भएका व्यक्तिले यो व्यवसाय शुरु गर्दा कतिपय अवस्थामा व्यवसायको निरन्तरता नभएको पनि देखिएको छ । त्यसैले बर्षौं देखि यहि क्षेत्रमा व्यवसाय गर्दै आएको पुरानो र प्रतिष्ठित कम्पनी हो भने उनीहरुसँग कामको अनुभवको सँगसँगै शाखा तथा डिलर नेटवर्क पनि ठुलै हुन सक्छ । तपाईले त्यहाँबाट सजिलै यस्ता सवारी साधन खरिद गर्न सक्नुहुन्छ ।

मुल्य
तपाईले भनेको जस्तै राम्रो मोडेलको विद्युतीय सवारीसाधन पाए पनि त्यसको मुल्य अप्रत्यासित महँगो छ भने पक्कै पनि त्यो साधन तपाईले किन्नुहुन्न होला । तर मुल्य महँगो छ कि छैन भन्ने जान्नका लागि माथि लेखिएका बुँदाहरुमा आधारित रहेर बजारमा पाईने केहि कम्पनीका मोडेलहरु बीच तुलना गर्न सक्नुहुुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *