म साइकल स्वास्थ्यका लागि चलाउ“छु

श्रीचन्द्र डंगोल

म पेसाले अहिले रेस्टुराँ व्यवसायी हो । मेरो नयाँ बजारमा हार्दिक नेवा रेस्टुरेन्ट छ । यो २०५२ सालमा स्थापना भएको रेस्टुराँ हो । मैले अन्य केही प्रोजेक्ट पनि गरिरहेको छु । साइक्लिङको कुरा गर्नुपर्दा म पहिला मार्सल आर्टको खेलाडी थिएँ । म किकोसिङ कराँते खेल्थें । मेरा गुरु जगतप्रसाद गौचन हुन् । उहाँले नै नेपालमा मार्सल आर्ट ल्याउनुभएको थियो । मेरो व्यवसायको कारण मैले खेल जीवनमा खासै समय दिन सकिनँ । त्यसैले म खेलको प्यास मेटाउनका लागि झरीमा ब्याडमिन्टन र अन्य समयमा साइक्लिङमा रमाउँछु । झरीमा साइक्लिङ गर्दा हिलोले साइकलको पार्ट्स बिगार्छ । हामीले चढ्ने राम्रो खालको साइकलको पार्ट्स निकै महँगो पर्छ । अरु बेलामा म दिनको दुईदेखि तीन घण्टा साइक्लिङ गर्छु । म कहिले सीतापाइला पुग्छु, कहिले दक्षिणकाली र कहिले खोकना पुग्छु । पहिलाको सिंगल ट्र्याक अहिले गाडी चल्ने बाटो बनेको छ ।
साइकल मनोरञ्जन र स्वास्थ्य दुवैका लागि गरिन्छ । कतिपय साइक्लिङ गर्दा थकाइ मारेर बियर खाएर पनि बस्छन् । मलाई त्यो मन पर्दैन । साइक्लिङ एक खालको मर्निङ वाकजस्तै हो । तर, मलाई मर्निङ वाक एक्लै गर्दिनँ । साथीसँग गफ गर्दै हिँड्दा निकै रमाइलो हुन्छ ।
मैले १२ वर्ष अगाडिदेखि साइक्लिङ गर्दै आएको छु । जसरी स्विमिङ गर्दा शरीरका सबै अंगको व्यायाम हुन्छ, साइकल चलाउँदा पनि शरीरका सबै अंगहरुको व्यायाम हुन्छ ।
साइकल वास्तवमै महँगो चिज हो । यो मोबाइलजस्तै हो । सुरुमा सामान्य साइकल नै ठीक लाग्छ । तर, बिस्तारै साइक्लिङ गर्नेले एड्भान्स साइकल खोज्दै जान्छ । नेपालमा अहिले पनि राइडरले १६ लाखसम्मको साइकल चलाउँछन् । ज्वाइन्ट र ट्रेक ब्रान्डको साइकल निकै महँगो हुन्छ । मैले सेकेन्डह्यान्ड किन्दा पनि ४ लाखमा किनेको छु ।
नेपालमा साइकल लेन नहुने भएकाले साइकल चलाउन जहिले पनि जोखिम हुन्छ । तर, हामीले जोगिएर साइकल चलाउनुपर्छ ।
हामीले चलाउने खालको साइकल मोटर साइकलभन्दा निकै महँगो पर्छ । मैले हालै मेरो साइकलको चेन स्पोकिट ७२ हजार तिरेर फेरें । मोटरसाइकलको चेन स्पोकिट खासै महँगो हुँदैन ।
मलाई साइकलमा टुर गर्न मन छ, तर मेरो व्यवसाय भएकाले मैले खासै समय निकाल्न सकेको छैन । त्यसले अहिले मैले उपत्यका आसपासका क्षेत्रमा नै साइकल चलाउने निर्णय गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *