यो गाडी ओरालोमा आफैं ब्याट्री चार्ज हुँदोरहेछ ।

 

सरोज खनाल, लोकप्रिय अभिनेता

 

नेपालमा पनि इभी गाडी आयो भनेर मैले गत वर्ष मात्रै थाहा पाएँ । पछिल्लो दिनमा हप्तैपिच्छे तेलको भाउ बढ्दै गयो । ६ महिनामा पेट्रोलको मूल्य डब्बल भयो । अहिले पनि नेपाल आयल निगमले आफू घाटामा रहेको कुरा गरिरहेको छ । यसलाई हेर्दा चुनावपछि फेरि पनि तेलको भाउ बढ्छ जस्तो लाग्छ । किनकि घाटाको व्यापार टिक्दैन । त्यसैले म इभीमा गएँ ।
इन्धनको मूल्य बढ्दै गएको छ भने उपत्यकामा पोलुसन पनि बढ्दै गएको छ । प्रदूषण नियन्त्रण गर्न पनि इभीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यस्तै इभीमा कर पनि अन्य गाडीमा भन्दा कम छ । मर्मत–सम्भार खर्च पनि कम छ । लुब्रिकेन्ट पनि हाल्नु नपर्ने र देशको बिजुलीको पनि सदुपयोग हुने भएकाले पनि इभी मेरो छनोटमा प¥यो । महिनामा १७ सय रुपैयाँको बिजुलीले इभीलाई पुग्दो रहेछ । त्यति नै हिँड्दा मेरो गाडीमा ९ हजारभन्दा बढीको पेट्रोल लाग्थ्यो । सर्भिसिङ खर्च पनि महँगो थियो । त्यसैले यो गाडी अन्यभन्दा निकै कम मूल्यमा चढ्न सकिन्छ ।
मैले एक महिनाअगाडि टाटाको नेक्सन इभी किनें, जुन मेरो पहिलो विद्युतीय सवारी हो । मैले थोरै अध्ययन गरेर यो गाडी किनें । पहिले त मलाई नेक्सन इभीको ग्राउन्ड क्लियरेन्स मन प¥यो । यसको ग्राउन्ड क्लियरेन्स २०९ एमएम छ, जुन अफरोडका लागि पनि पर्याप्त हो ।
टाटाले मलाई सेलिब्रेटी मानेर एक महिनामै इभी दियो । सामान्यतया बुकिङ गरेको ६ महिनामा मात्रै इभी पाउने अवस्था छ । तथापि, मलाई एक महिनामै दियो । त्यसैले म टाटालाई धन्यवाद दिन्छु ।
जब मैले इभी चढ्ने सोच बनाएँ, मलाई यसको ग्राउन्ड क्लियरेन्सले तान्यो । सुटिङमा जाँदा मलाई अफ रोड पनि जानुपर्छ । अफरोडमा कम ग्राउन्ड क्लियरेन्स भएको गाडी काम लाग्दैन । त्यसैले यो गाडी मेरो रोजाइमा प¥यो ।
अहिले मैले चलचित्र ‘बगान’ निर्देशन गरिरहेको छु । यसका छायाँकार गौरीशंकर धुजू, जसले मलाई करिअरको सुरुवातमा ‘मौन आकाश’ भन्ने सिरियलमा मुख्य भूमिकामा खेल्नका लागि प्रेरित गर्नुभएको थियो, उहाँले एक वर्षअगाडिदेखि नै इभी चढ्नुभएको थियो । उहाँले इन्धनको मूल्य नपर्ने र सर्भिसिङ खर्च पनि कम हुन्छ भनेपछि मैले इभी चढ्ने योजना बनाएको थिएँ । त्यस्तै सुटिङमा जाँदा मैले पेट्रोलको पैसा माग्ने गरेको छैन । इभीमा पेट्रोलबापतको खर्च नहुने भएकाले पनि यो गाडी मेरो रोजाइमा प¥यो ।
मैले यो गाडी किन्दा कम्पनीले यसले फुल चार्जमा २ सय २५ किलोमिटरको माइलेज दिने बताएको थियो । उपत्यकामा यसले २०० किलोमिटर प्रति फुल चार्जको माइलेज दिएको छ । हाइवेमा जाँदा यसले २ सय २५ किलोमिटरसम्मको माइलेज दिन्छ । सुरुमा इभी चलाउँदा हल्का कठिन महसुस हुन्छ । जसले गर्दा बढी ब्रेक लगाइन्छ र चार्ज पनि कम टिक्छ । तर, बिस्तारै बानी लागेपछि ब्याट्रीको खपत पनि कम हुन्छ । यसको ब्याट्रीमा आठ वर्षको रिप्लेसमेन्ट वारेन्टी छ । त्यस्तै आठ वर्ष पछाडि ब्याट्रीमा कुनै प्रकारको समस्या आएको खण्डमा पनि पूरै ब्याट्री फेर्नु नपर्ने भएकाले मैले यो गाडी ढुक्कले चढेको छु ।
यसको अर्र्को रमाइलो पक्ष भनेको यो गाडी ओरालोमा गुड्दा आफैं ब्याट्री चार्ज हुँदो रहेछ । म एक दिन ध्याम्पेडाँडाबाट सूर्यविनायक सडकमा आइपुग्दा १० किलोमिटरको लागि चार्ज भएको पाएँ । मलाई ओरिएन्टेसन गर्दा यो कुरा कम्पनीले भनेको थियो । तर, मैले ख्याल गरेको थिइनँ ।
मलाई अमेरिका बस्दा अटोमेटिक गाडी चलाउने बानी लागेको थियो । नेपालमा आएपछि मलाई म्यानुअल गाडी चलाउने आँट आएन र एक महिना कुरेर मैले सुजुकीको अटोमेटिक सेलेरियो किनें । अहिले त्यो घरमै छ, तथापि नेक्सन इभी किनें । अहिले सुटिङमा बेला–बेलामा म्यानुअल गाडी चलाउँदा मलाई कठिन हुन्छ ।
अमेरिकामा पनि अहिले इन्धनको मूल्य बढेको छ । त्यसैले त्यहाँ पनि इभी बढ्दै गएको होला । तर, छोराबुहारीले अहिलेसम्म इभी चढेका छैनन् ।
सडकको कुरा गर्दा अहिले इभी चढ्ने हैन, साइकल चढ्ने र फुटपाथमा हिंड्नेलाई पनि समस्या छ । अहिले फुटपाथमा हिंड्नेले पनि गाडीले छ्यापेको पानी, हिलो सहनुपर्ने अवस्था छ । देशको केन्द्रीय राजधानीको अहिले दयनीय अवस्था छ । विदेशीले नेपालमा ओर्लेर एउटा होटलमा पुग्दा नेपालको सडकको अवस्थाको पूर्ण मूल्यांकन गर्छन् । रेस्टुराँको मूल्यांकन गर्न त्यसको ट्वाइलेट हेरे पुग्छ । ट्वाइलेट सफा छ भने किचेन पनि सफा हुन्छ भन्ने सोच्न सकिन्छ । त्यस्तै देशको अवस्था थाहा पाउन त्यो देशको सडकको अवस्था हेरे पुग्छ । अहिले इन्डियाको सडकको अवस्था त्यसैगरी परिवर्तन भएको छ । किनकि मोदीले त्यहाँ विकासको वहार ल्याएका छन् । हाम्रो देशमा अहिलेसम्म सडक राम्रो हुनुपर्छ भन्ने विषयले मान्यता पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *