बैशाख १४ गतेदेखि राजपत्रमा सूचना प्रकाशित गरेर आयात प्रतिबन्ध लगाइएको निजी कम्बस्चन इन्जिन युक्त कारको आयात अझै खुल्ने वा नखुल्ने टुङ्गो भएको छैन ।
सुरुमा असार मसान्तसम्मको लागि आयात प्रतिबन्ध लगाइएकोमा साउन १ गते अर्को सूचना प्रकाशित गरेर भदौ १५ गतेसम्मको लागि आयात प्रतिबन्ध लगाइएको थियो । भदौ १५ गते अर्को निर्णय गर्दै आयात असोज २८ गतेसम्मको लागि लम्बाईएको थियो ।
आज सरकारले अर्को कुनै निर्णय नगरेको खण्डमा भोलिबाट आयात खुल्ला हुनेछ । आयात खुल्ला गर्ने वा नगर्ने विषयमा अर्थ मन्त्रालय, योजना आयोग, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै अध्ययन गरिरहेका छन् । नेपाल राष्ट्र बैंक बाहेक अन्य सबै निकाय आयात खुल्न सकारात्मक देखिएका छन् ।
असोजको पहिलो साता आयोजना भएको नाडा ईभी एक्स्पो २०२२ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयात खुल्ला गर्ने विषयमा छलफल भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘हामी आयात खुल्ला गर्ने तयारीमा छौं ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार यतिका लामो समय आयात प्रतिबन्ध लगाएर सरकारले यो क्षेत्रमा भएको लगानीलाई डुबाउने प्रयत्न गरिरहेको बताए ।
सरकार र व्यवसायी बीच धेरै पटक आयात खुल्ला गर्ने विषयमा छलफल भएपनि भोलिबाट पनि आयात खुल्ने वा नखुल्ने कुनै टुङ्गो लागिसकेको छैन ।