कोरोना संक्रमण फैलिएसँगै तीन वर्षदेखि बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ । चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश बुधबार पाएको हो ।नेपाल भ्रमणमा रहेका चिनिया जनकंग्रेसका अध्यक्ष ली चान्शुले बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा पनि नाका खुलाउनेबारे जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय रसुवालाई पनि नाका खोल्नेबारे सन्देश आएको हो । सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ ।सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ । चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । खनालका अनुसार नेपालले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आए पनि चीनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
Photo: Internet