चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसुको भ्रमणको समयमा सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। चार दिने भ्रमणमा आएका चानसु नेतृत्वको चिनियाँ टोली मंगलबार बिहान भक्तपुरको अवलोकन गर्ने भएका छन् ।
चिनियाँ टोली भक्तपुर भ्रमणमा बिहान ९ बजेको आसपासमा जाने भएपछि रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भक्तपुर भ्रमण गरेपछि उनी सोल्टी होटल फर्कनेछन्। त्यसपछि अध्यक्ष ली राष्ट्रपति विद्यादेवी भण्डारीसँग दिउँसो शिष्टाचार भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास जाने कार्यतालिका छ। दिउँसो ३:३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीतल निवाससम्मको सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ।
सवारी आवागमन प्रभावित हुने समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। लीको सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाडले सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन्।