मोटर, मोटरसाइकल, मोबाइलसम्मको आयातमा प्रतिबन्ध

विदेशी मुद्राको सञ्चिति ६.७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यी लगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो । भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरे जस्ता सामग्री आयात भएका छन् ।

त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

त्यसैगरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा प्रतिबन्ध लागेको छ । पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैंले भने आयात गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ । नेपालमा चालु आवको नौ महिनामा प्रमुख रुपमा १५ लाख २५ हजार १९३ लिटर मदिरा स्वदेश भित्रिएको छ । त्यसमा बियर बनाउने माल्टदेखि वाइन र ह्विस्की तथा अल्कोहल कन्टेन्ट रहेका छन् । विभागका अनुसार ती सामग्रीको आयात मूल्य रु दुई अर्ब एक करोड ११ लाख ५९ हजार बराबर छ । सरकारले त्यसबाट रु तीन अर्ब ५७ करोड ३८ लाख ६७ हजार बराबरको राजश्व सङ्कलन गरेको छ ।

उद्योग मन्त्रालयका अनुसार चुरोट तथा सुर्तीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेको सूचनामा उल्लेख छ । चालु आबको नौ महिनाको अवधिमा मात्रै १८ लाख किलो सुर्तीजन्य पदार्थ आयात भएको छ । उद्योग मन्त्रालयका अनुसार हिरा (औद्योगिक कच्चापदार्थ बाहेक) का सामग्री आयातमा प्रतिबन्ध लागेको छ । त्यस्तै, ६०० अमेरिकी डलरमाथिको मोबाइल सेटको आयात समेत तत्कालका लागि रोक लगाइएको छ । सरकारले ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन पनि आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यस्तै, मङ्गलबारभन्दा अघिदेखि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा यो व्यवस्था लागू नहुने उद्योग मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले जानकारी दिए । विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल नौ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । चालु आवको आठ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८.५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *