टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात टाटा एसलाई अब इलेक्ट्रिक भर्सनमा सार्वजनिक गरेको छ । टाटा मोटर्सले निकै नै सफल मानिएको यो ‘छोटा हाथी’ यो सेगमेन्टको बेस्ट सेलर भएको बताइन्छ ।
टाटा मोटर्सले यसमा पहिलो पटक इभोजेन पावरट्रेनको प्रयोग गरेको छ, जसले १५४ किलोमिटरको रेन्ज प्रदान गर्ने बताइएको छ । यसमा भएको २१.३ किलोवाट आवरको ब्याट्री प्याकले ३६ बीएचपी पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । टाटा मोटर्सका अनुसार यसको ड्राइभिङ रेन्ज बढाउनका लागि उन्नत ब्याट्री कुलिङ सिस्टम र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध छ ।
हाल उपलब्ध ग्यासोलिन पावर भर्सनसँगको एस ईभी समेत निकै नै मिल्दोजुल्दो छ । यद्यपि यसलाई फरक देखाउनका लागि आफ्नै ईभी ब्रान्डिङ गरिएको छ । ठूलो र बोल्ड अक्षरमा ‘एस ईभी’ को ब्रान्डिङ गरिएको छ ।
इन्टेरियरमा ब्लुटुथ कनेक्टिभिटी सहितको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ । सेन्टर ड्यासमा इन्टरटेनमेन्ट सिस्टमसँगै इन्स्ट्रयुमेन्ट क्लस्टर छ । यसमा ब्याकअप क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य विभिन्न फिचर छन् । नेपाली बजारमा समेत निकै नै लोकप्रिय मानिने सानो पिकअप ट्रक टाटा एसको इलेक्ट्रिक भर्सन आगामी दिनमा समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ ।