गाजापट्टीबाट इजराइली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजराइली सेनाले बताएको छ ।
मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजराइलमा प्रत्यक्ष प्रहारका कारण एक ६० वर्षीया महिला मारिएको बताएको छ ।
चिकित्सकहरूका अनुसार अन्य १५ जना घाइते भएको र दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले उक्त हमलापछि प्रधानमन्त्री नेतान्याहुले चाँडै सुरक्षा प्रमुखहरूलाई बोलाउने जनाएको छ ।
सन् २००७ मा हमास सत्तामा आएपछि इजराइलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजराइलबीच विनाशकारी युद्ध भएका छन् ।
पछिल्लो हमला इजराइलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो ।