वीरगन्ज आइसिपीमा हुन्डाईको इलेक्ट्रोनिक गाडी ‘आयोनिक फाइभ’ केही संख्यामा देखिन्छन् ।
पछिल्लो समय इलेक्ट्रिक गाडीको माग बढ्दो ट्रेन्डमा रहेकाले भन्सारमा आइपुग्ने गाडीहरू जाँचपास भइरहेका छन् । इलेक्ट्रिक गाडीमा बैंक तथा वित्तीय संस्थाहरूले पनि सहज लगानी गर्न थालेका छन् ।
चालू आवको जेठ मसान्तसम्म पेट्रोल र डिजेलबाट चल्ने मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, पिकअप, ट्रक, टिपर, ट्यांकर, बस तथा यिनका चेसिसहरूको आयात र राजस्व संकलन घट्दा इलेक्ट्रिक कार, जिप र भ्यानको जाँचपास भने बढेको वीरगन्ज आइसिपीको तथ्यांकले देखाउँछ ।
११ महिनाको अवधिमा आइसिपीले इलेक्ट्रिक गाडीबाट ३० करोड ८९ लाखभन्दा बढी राजस्व उठाएको छ । तर, एउटै गाडीमा करोडभन्दा बढी राजस्व उठ्ने पेट्रोल, डिजेलबाट चल्ने गाडीहरू भने यार्डमै थन्किएका छन् ।
वीरगन्ज यार्डमा बिएमडब्लूका एक्स थ्री र आइएक्स थ्री मोडेल पार्किङमा देखिन्छन् । नेपाली बजारमा एक्स थ्रीको मूल्य साढे दुई करोडभन्दा बढी छ ।
यस्तै, महँगो मूल्य पर्ने टोयोटाको ल्यान्डक्रुजर, फर्चुनर र हाइलक्स (पिकअप) पनि ठूलो संख्यामा छन् । यस्तै, हाइब्रिड कोरला क्रस पनि पार्किङमै छ ।
यो कारको मूल्य एक करोड ६५ लाख रहेको छ । वीरगन्ज आइसिपीमा सबैभन्दा बढी प्यासेन्जर कार टोयोटाका देखिन्छन् ।
हुन्डाईको क्रेटा, नयाँ भेन्यु, ग्रान्ड आइटेन निओस, आयोनिक फाइभ, टुसान पनि वीरगन्ज भन्सारमा प्रशस्तै देखिन्छन् ।
फोर्सको एसयुभी र सिट्रोन कार पनि जाँचपास नभई पार्किङमा छन् । यस्तै, सीमापारि भारतीय भूमिमा पनि नेपालमा ल्याउन लागिएका गाडी ठूलो संख्यामा लाममा रहेको व्यवसायीको भनाइ छ ।
वीरगन्जबाट अशोक ले ल्यान्ड, महिन्द्रा र टाटा, टायोटा, हुन्डाई, फोर्स, बिएमडब्लू, किया, सिट्रोन, इसुजु पिकअपलगायतका गाडीहरू आयात हुँदै आइरहेका छन् ।
अहिले व्यवसायीहरू भन्सारमा थुप्रिएका गाडीहरूको बैंकमा चर्को ब्याज तिर्दा–तिर्दा आजित भइसकेका छन् ।
अब बिक्री गर्न ग्राहक नै नभएपछि थप रकम भन्सार तिरेर गाडी जाँचपास गराउन तयार छैनन् । यार्डमा पनि पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ ।
अहिले यार्डमा भरिभराउ हुँदा थप गाडी राख्नका लागि ठाउँको अभाव रहेको इन्टरमोडल यातायातले जनाएको छ ।
पछिल्लो समय केही गाडीहरू छुटिरहे पनि नयाँ गाडी थपिने क्रम जारी रहँदा यार्डमा गाडी घटेका छैनन् ।